९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एक रातमा तीन जनालाई करणी !



रुकुम ।
एकै रातमा तीनजना महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुकुमपश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसी पक्राउ परेका हुन् ।
गत मंसिर २७ गते राति उनले गाउँका तीन महिलालाई जबर्जस्ती करणी गर्न खोजेका थिए । घरमा पति नभएकी महिलाको घरमा गएर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । उनका अनुसार केशवले २७ गते राति १ बजे पति घरमा नभएकी ४० वर्षीया एक महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए । सोही राति २ बजे घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ ।
केशवले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबर्जस्ती करणी गरेको स्वीकारेका छन् । उनी ढोकाको खापबाट हात छिराइ काठको खुटी (चुकुल) निकालेर प्रवेश गरेका थिए । बलात्कार गर्न खोज्दा प्रतिकार गरे पनि जबर्जस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा छ । पीडित तीनै जनाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
पीडितको निवेदनका आधारमा केशवलाई मंसिर ३० गते बेलुका नगरपालिका ९ राडी बजारमा लुकी बसेको अवस्थामा पक्राउ गरिएको डीएसपी खड्काले बताए । उनीविरुद्ध जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।–अन्नपूर्ण पोस्ट्बाट

प्रकाशित मिति : ४ पुस २०७६ शुक्रबार ००:००  ८ : २८ बजे