९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

डान्स आइडलकी उपविजेता अमिशालाई ज्ञानपुञ्जको छात्रवृत्ति, वडाद्धारा सम्मान



मायादेवी अनलाइन, वाणगंगा ।
नवौँ कपिलवस्तु डान्स आइडलमा उपविजेता बन्न सफल अमिशा विश्वकर्मालाई बाणगंगा २ राजपुरमा रहेको ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुलले पूर्ण छात्रवृत्ति दिने भएको छ । ११ औँ कपिलवस्तु महोत्सवको अवसरमा भएको डान्स आइडलमा सहभागी भएर उपविजेता भई विद्यालयको नामलाई उँचो बनाउन सफल भएकोले कक्षा ९ मा अध्धयनरत छात्रा विश्वकर्मालाई पौष १ गतेबाट लागु हुने गरी छात्रवृत्तिको घोषणा गरिएको हो ।
अब अमिसाले एसईई नसकिँदासम्म विद्यालयमा निशुल्क पढ्न पाउने छिन्, विद्यालयका प्रिन्सिपल रोमकान्त घिमिरेले भन्नुभयो–“गरिब, जेहेन्दार, कुनै पनि प्रतिभा र क्षमता भएका विद्यार्थीलाई विद्यालयले निरन्तर रुपमा यस्ता कार्यक्रममार्फत् हौसला प्रदान गर्दै आइरहेको छ । त्यसै अन्तर्गत विद्यालयले निर्णय गरेर उनलाई छात्रवृत्ति दिएको हो ।” उहाँले आगामी दिनमा अमिशाले अझै धेरै गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।


विद्यालयका अध्यक्ष पदमलाल अधिकारीले केही गर्छु भन्ने विद्यार्थीहरुका लागि यो ठुलो प्रोत्साहन भएकाले यसको सही सदुपयोग गेरर अझै अघि बढ्न छात्रा अमिशालाई आग्रह गर्नुभयो । विद्यालयले छात्रवृत्ति प्रदान गरेपछि आफुहरु धेरै खुसी भएको विद्यार्थी र उनका अभिभावकले बताएका छन् । औपचारिक कार्यक्रम पूर्व विद्यालयले उनको सम्मानमा विजयी र्याली निकालेको थियो । विद्यालयबाट निस्किएको र्याली वडा कार्यालय पिपरा, वैैजलपुर, वैरिया, नन्दनगर, उप्टहवा, जितपुर आदि ठाउँमा परिक्रमा गरेर पुनः विद्यालयमा आई सभामा परिणत भएको थियो ।
विद्यालयका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनलाई विद्यालयले सम्मान पनि गरेको छ । अमिशाले अडिसन दिन आएका १ सय ५० बढी विद्यार्थीहरुसंग प्रतिस्पर्धा गरेर दोश्रो स्थान हासिल गर्न सफल भएकी थिइन् । पुरस्कार स्वरुप उनले नगद ६६ हजार, ६ सय ६६ र थुप्रै उपहार पनि पाएकी थिइन ।
यसैबीच अमिशालाई बाणगंगा नगरपालिका वडा नम्बर २ ले पनि सम्मान गरेको छ । डान्स आइडलमा सहभागी भएर वडाको नाम उच्च हुने गरी सफलता हासिल गरेकाले उनलाई वडा कार्यालयमा कार्यक्रम आयोजना गरी सम्मानपत्रद्धारा सम्मान गरिएको वडाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । सम्मान कार्यक्रममा वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ पुस २०७६ बिहिबार ००:००  ७ : ३७ बजे