९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

काम सकेर फर्कँदै गरेका प्रमुख प्रशासकीय अधिकृत के.सी.माथि आक्रमण



रुकुम पश्चिम ।
कार्यालयबाट काम सकेर फर्कँदै गर्दा आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको छ ।  बुधबार बेलुका ६ बजे कार्यालयको काम सकेर फर्किँदै गर्दा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सी.माथि कार्यालय नजिकैको राडी बजारमा आक्रमण भएको हो ।
आक्रमणमा परेका केसीको टाउकामा ४ वटा टाँका लगाइएको छ । उहाँसँगै रहनु भएका सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि पनि आक्रमण भएको जनाइएको छ ।
आठबीसकोट नगरपालिका ३ का गोपाल वि.क.ले केसीमाथि आक्रमण गरेको बताइएको छ । गोपालको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गोपाल वडा नम्बर ३ का वडाध्यक्ष केशरमान वि.क.का भाइ हुन् ।
आठबीसकोट नगरपालिकाका उपप्रमुख गीता नेपालीले विज्ञप्ति जारी गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीमाथि भएको आक्रमणको भ्रत्सर्ना गर्नुभएको छ । उपप्रमुख नेपालीले विज्ञप्ति जारी गरी दोषीमाथि कारबाहीको माग गर्नुभएको छ । दुई तीन दिनदेखि आक्रमण गर्ने गोपाल वि.क.ले पिछा गरेर केसीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यता नगरपालिकामा कार्यरत कर्मचारीले छुट्टै विज्ञप्ति जारी गरेर वडा नम्बर ३ का अध्यक्षको योजनालाई लिएर कार्यकारी अधिकृतमाथि आक्रमण भएको बताएका छन् । दोषीमाथि कारबाहीको माग गर्दै कारबाही नभएसम्मका लागि बिहीबारदेखि नगरपालिकाको कुनै पनि काम नगर्ने भन्दै विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ ।
सोधपुछका लागि भनेर वडाध्यक्ष केशरमान विकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७६ बिहिबार ००:००  १२ : ५९ बजे