९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पश्चिमी वायुको प्रभावले पानी पर्ने सम्भावना



काठमाडौं ।
शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो ।
चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शितलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा चलहपहल कम भएको छ ।
बिहीबार पनि तराईमा दिनभर हुस्सु र कुहिरो लाग्ने भएकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाका मौसमविद् शान्ती कँडेलले आग्रह गर्नुभएको छ ।
विशेषगरी कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा, नवलपरासी, महोत्तरी, सप्तरी, सुनसरी, मोरङ र झापामा शितलहरको असर बढी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो ।
शुक्रबारसम्म तराईका क्षेत्रमा शीतलहर कायम रहने र त्यसपछि फेरि पश्चिमी वायुको सामान्य प्रभाव हुने भएकाले पानी पर्ने सम्भावना छ ।
पानी परेपछि शीतलहर घट्ने सम्भावना भएको मौसमविद् कँडेलले बताउनुभयो । देशका अन्य ठाउँको मौसम पनि आज पूर्णरुपमा खुल्ने सम्भावना नभएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : ३ पुस २०७६ बिहिबार ००:००  ८ : २० बजे