९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग, अभियोगको पक्षमा २३०, विपक्षमा १९७ मत



एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा मतदान गरेको हो ।
नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मत दिएका हुन् ।
ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो ।
शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको हो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो ।
तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्या्टिक नेतृ तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडमा रहेकी तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् । दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद हुन् ।
सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् । यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ ।
यो अभियोगको पक्षमा २२९ तथा विपक्षमा १९८ मत परेको हो । यसमा तीन डेमोक्र्याटले विपक्षमा मत दिएका हुन् । तीन सांसदले मत दिएनन् भने तुलसी गाबरले यसमा पनि पक्ष वा विपक्षमा मत दिइनन् । सभामुख पेलोसीले मतदान सकिए लगत्तै दोस्रो अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् ।
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्तावमा नेपाली समय अनुसार बुधबार बेलुका सुरु भएको छलफल बिहीबार बिहान सम्पन्न भएको हो । छलफल सकिएपछि मतदान भएको हो ।
डेमोक्र्याटको बहुमत रहेको सदनले ट्रम्पमाथि महाभियोग लगाउने पक्षमा मतदान गरेसँग ट्रम्प अमेरिकाको इतिहासमा औपचारिक रुपमा महाअभियोग लाग्ने तेस्रो राष्ट्रपति भएका छन् । अमेरिकाको इतिहासमा यो चौथो महाअभियोग प्रक्रिया हो ।
ट्रम्पमाथिको महाअभियोगबारे माथिल्लो सदन सिनेटमा बहस हुनेछ । माथिल्लो सदनमा रिपब्लिकनको बहुमत रहेको छ ।
सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वा्चित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ । राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ ।

प्रकाशित मिति : ३ पुस २०७६ बिहिबार ००:००  ८ : १५ बजे