१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

अष्ट्रेलियामा गर्मीले तोड्यो रेकर्ड



सिड्नी ।

अष्ट्रेलियामा अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड भएको छ । सन् २०१३ मा ४०.३ डिग्रीको रेकर्ड तोड्दै मंगलबार ४०.९ डिग्रीको तापक्रम पुगेको हो । गर्मी बढेसँगै तातो हावाको बहाव अझै बढ्न सक्ने अष्ट्रेलियन मौसम विभागले जनाएको छ ।

मौसमविद्हरुले यो तापक्रमको रेकर्ड यही हप्ता तोडिन सक्ने अनुमान समेत गरेका छन्। यस हप्ताको सुरूमा पश्चिमी अष्ट्रेलियाको राजधानी पर्थमा लगातार तीन दिनसम्म ४० डिग्री तापक्रम मापन गरिएको थियो ।

औसत भन्दा माथिको तापक्रम, उच्च बतास, खडेरी र सुख्खा मौसमले अष्ट्रेलियाका धेरै स्थान जोखिममा रहेको बताइएको छ । अष्ट्रेलियामा तापक्रम बढ्नुको कारण जंगलमा लागेको डढेलो पनि रहेको विभागले बताएको छ ।

अष्ट्रेलियाका विभिन्न जंगलमा डढेलो लाग्नाले त्यहाँको मौसम बिग्रिएको हो भने ६ जनाले ज्यान समेत गुमाइसकेका छन् ।

यसअघि सेप्टेम्बरमा डढेलो लाग्दा पूर्वी प्रान्तमा खतराको संकेत दिइएको थियो । न्यु साउथ वेल्सका स्थानीयले आफ्नो घर समेत छाडेर जान बाध्य भएका थिए । डढेलो नियन्त्रण राम्ररी नगर्दा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन समेत आलोचित बने ।

प्रकाशित मिति : २ पुस २०७६ बुधबार ००:००  ९ : ५६ बजे