९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गोकर्ण विष्टको गुनासोः अयोग्य जसरी मन्त्रीबाट हटाउँदा आत्मसम्मानमा चोट पुग्यो



काठमाडौं ।
मन्त्री परिषद् पुनर्गठन गर्दा आफूलाई अयोग्यजस्तो व्यवहार गरिएको भन्दै गोकर्ण विष्टले नेकपा स्थायी समिति बैठकमा गुनासो पोखे । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् पुनर्गठन गर्नुअघि राजिनामा मागेको भए दिन तयार हुँदाहुँदै पनि थाहै नदिई हटाइएकाले आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका हुन् ।
नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी स्थायी समिति बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले बैठकमा भने, ’मन्त्रीबाट हटाउनुपहिले पार्टीले सामान्य जानकारी दिएर बाटो खाली गरिदिन भनेको भए सहज रुपमा स्वीकारिन्थ्यो । तर, अयोग्य जस्तो गरी हटाइयो। यसले हाम्रो आत्मसम्मानमा चोट पुगेको छ ।
आइतबारदेखि जारी बैठकमा बुधबार १२ जना सदस्यले आफ्ना धारणा मौखिक र लिखित रुपमा प्रस्तुत गरेका छन् । बैठकमा स्थायी समिति सदस्य विष्टका साथै प्रदीप ज्ञवाली, मातृका यादव, वर्षमान पुन, लिलामणी पोखरेल, गिरिराजमणी पोखरेल, हरिबोल गजुरेल, रघुजी पन्त, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले सुझाव राखेका छन् । बैठक बिहीबार पनि ११ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : २ पुस २०७६ बुधबार ००:००  ६ : २३ बजे