बिष्णु कुमार आले, अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका-१२, डिभर्ना स्थायी घर भएका स्वर्ण विजेता कमल श्रेष्ठलाई जिल्लामा बाजागाजा सहित सम्मान गरिएको छ । श्रेष्ठलाई पन्चेबाजा बजाएर सन्धिखर्क बजार परिक्रमा गराई सम्मान गरिएको थियो । दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई अर्घाखाँचीबासीले भव्य स्वागत गरेका हुन् ।
उनले तेक्वान्दोको पुम्से (एकल २४–२९ वर्ष) तर्फ स्वर्ण र तेक्वान्दाकै समुहगत विधामा कास्य पदक जितेका थिए । उनलाई उद्योग वाणिज्य संघ अर्घाखाँची, सदरमुकाम सन्धिखर्कका स्थानीय बासिन्दा र नेवार समुदायले फुलमाला, अबिर, मायाको चिनो र सम्मानपत्रले सम्मान गरेका हुन्।
सम्मान कार्यक्रममा बोल्दै स्वर्ण विजेता कमल श्रेष्ठले जिल्लामा पाएको सम्मानले आत्मबल बढेको बताए । ‘यति धेरै सम्मान पाउँछु भन्ने सोचेकै थिएनँ’, उनले भने, ‘ यो सम्मानले मेरो आत्मबल उच्च भएको छ ।’ उनले भने, यो माया र सम्मानले मलाई हौसला थपेको छ, अझ अगाडि बढ्ने आँट र साहस बढाएको छ ।
उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ, उपाध्यक्ष नेत्रप्रसाद भुसाल, महासचिव प्रदिप मिश्र लगायतले जिल्लाको गरिमा बढाएको भन्दै सम्मान पत्र, खादा र फूलमालाले सम्मान गरेका हुन् ।
प्रतिक्रिया