काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। उपनिर्वाचनको समीक्षालगायत समसामयिक विषयमा छलफल गर्न बिहीबार शुरु भएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको बहिस्कारका बाबजुद आज पनि बस्ने भएको हो। वरिष्ठ नेता पौडेल सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट बैठकमा सहभागी भएका छैनन्। यसअघि हिजोको बैठकमा उपनिर्वाचन सम्बन्धी प्रतिवेदन पेस भएको थियो। उपनिर्वाचन समितिले निर्वाचनको परिणाम, असहयोग तथा समीक्षा समेटेर तयार पारेको प्रतिवेदनमाथि आजबाट केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन्। बैठकमा अर्का नेता कृष्ण सिटौला र उनी निकटका केन्द्रीय सदस्यहरु पनि उपस्थित भएका छैनन्। पौडेल र सिटौला पक्षका नेताहरु केन्द्रीय समिति बैठकमा आगामी महाधिवेशनको एजेण्डामा छलफल हुनुपर्ने बताउँदै आएका छन्। सभापति देउवाले महाधिवेशनको तयारी अघि केन्द्रीय विभागहरु गठन र समायोजनको काम सम्पन्न गर्न लागेपछि केन्द्रीय समितिमा असन्तुष्टि बढेको हो। आज केन्द्रीय कार्य समिति बैठक सुरु हुनुअघि पौडेल पक्षका नेताहरुसँग सभापति देउवाले अनौपचारिक छलफलको तयारी गरेका छन्।
प्रतिक्रिया