बुटवल : प्रदेश–५ को नाम र स्थायी राजधानी प्रदेशसभालाई सिफारिस गर्न बनेको विषेश समितिले प्रतिवेदन तयार पारेको छ। विस ०७५ साउनमा तीन महिनाको समयावधीभित्र नामकरण र राजधानीको विषयमा सिफारिस प्रतिवेदन बनाउन गठन भएको विषेश समितिले तीन पटकको म्याद गुज्रिनै लाग्दा प्रतिवेदन तयार पारेको हो।
समितिका संयोजक दीपेन्द्रकुमार पुनमगरले आइतबार बसेको समितिको बैठकलले प्रतिवेदनलाई अन्तिम रूप दिएको र सोमबार प्रदेश सभामुख पूर्णबहादुर घर्तीलाई बुझाइने बताए। ‘आइवार बसेको समितिको बैठकले सोमवार सभामुखलाई प्रतिवेदन बुझाउने निर्णय गरेको छ’ उनले भने। यद्यपि नाम र राजधानीबारे भने उनी खुल्न चाहेनन्। ‘सभामुखले प्रदेशसभामा छलफलका लागि प्रस्तुत नगर्दासम्म हामीले केही बोल्न मिल्दैन’ उनले भने। दोस्रो पटक म्याद गुज्रेपछि तेस्रोपटक थप भएको ६ महिनाको अन्तिम दिन सोमबार (मंसिर ३०) प्रतिवेदन प्रदेश सभामुखलाई बुझाउन लागेको हो। प्रदेशका बाह्रवटै जिल्लामा पुगेर लिइएका राय सुझाव र विज्ञहरू सम्मिलित उपसमितिले दिएको प्रतिवेदनका आधारमा प्रतिवेदन तयार पारिएको विषेश समितिका संयोजक पुनले जनाए। भारतको चण्डिगढ सहरको अध्ययनपश्चात फर्केलगत्तै आइतबार बसेको समितिको बैठकले प्रदेशको नामकरण र राजधानीको विषयमा प्रतिवेदनलाई अन्तिम रुप दिएको हो। विस २०७५ साउनमा प्रदेश ५ को नामकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि प्रदेश सभा नियमावली २०७४ (संशोधनसहित) को नियम १५२ मा व्यवस्था भएअनुसार बनेको विषेश समितिमा १५ सदस्य छन्।
प्रतिक्रिया