१७ कार्तिक २०८१, शनिबार | Sun Nov 3 2024

आजदेखि मौसममा क्रमशः सुधार आउने



काठमाण्डौँ ।
पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागले आज बिहान विशेष बुलेटिन जारी गर्दै देशका मध्य र पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको हो ।
मौसमविद्का अनुसार यो क्रम आज बेलुकासम्म कायम रही भोलिबाट क्रमशः सुधार हुँदै जाने बताइएको छ । “पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भू–भागका स्थानमा सतर्कता अपाउनु हुन अनुरोध गरिन्छ”, विभागले भनेको छ ।
विभागका अनुसार हाल देशको मध्य र पश्चिमी पहाडी भू–भाग र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही भू–भागमा हल्का वर्षा भएको छ । उच्च पहाडी र हिमाली भू–भागमा हिमपातसमेत भएको जनाएको छ । अहिले देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहे पनि मध्य र पूर्वी पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले औँल्याएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६ आइतबार ००:००  ६ : २४ बजे