९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज दिनभरको मौसम कस्तो होला ?



काठमाडौं ।
देशका अधिकांश क्षेत्रमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यसकै कारण अहिले देशको मध्य र पश्चिमी क्षेत्रका पहाडी भूभाग र पूर्वी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ ।
केही क्षेत्रमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही प्रणालीको प्रभावका कारण शुक्रबार देशैभर वर्षा भएको थियो । पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार रातभर पनि कतै वर्षा र कतै हिमपात हुँदा चिसो बढेको छ ।
शनिबार दिनभर पनि मौसम बदलीकै अवस्थामा रहने छ । मध्य र पश्चिमी भूभागमा दिनभर आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै पूर्वी क्षेत्रमा सामान्य बदलीको अवस्था रहने मौसमविदले बताएका छन् ।
मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षा हुने जनाइएको छ । उच्च पहाडी र हिमाली क्षखेत्रमा हल्कादेखि मध्यम हिमपात हुने जनाइएको छ ।
शनिबार राति देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने जनाइएको छ ।
काठमाडौँ उपत्यकामा ३२. ४ मिलिमिटर पानी परेको मौसमविद समिर श्रेष्ठले जानकारी दिएका छन् । बुधबार अधिकतम तापक्रम ११ डिग्री सेल्सियस मात्रै पुगेकाले काठमाडौँमा निकै जाडो भएको थियो । तर शनिबार अधिकतम तापक्रम बढ्ने अनुमान छ । शनिबार बिहान ७.४ डिग्री रहेको काठमाडौँको तापक्रम दिउँसो १७ देखि १८ डिग्रीसम्म पुग्ने अनुमान छ ।
उपत्यकाका नगरकोट, फुलचोकी, चम्पादेवी, चन्द्रागिरिलगायत क्षेत्रमा हिमपात भएको छ । पश्चिमी क्षेत्रका जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ ।
बुधबार बेलुका नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको हो । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६ शनिबार ००:००  ८ : ३० बजे