९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कपिलवस्तुसहित पश्चिम तराइमा मौसम बदली, पानी परेसंगै चिसो बढ्यो



मायादेवी अनलाइन, कपिलवस्तु । 

कपिलवस्तुसहित पश्चिम तराइमा मौसम बदली भएको छ । पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव प्रवेश गरेपछि मौसममा अचानक बदली भएको हो । आज विहानैबाट देशभरको मौसम पूर्ण बदली भएसंगै पानी पर्न सुरु गरेको छ । पश्चिम तराईँका क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ  । कपिलवस्तुमा पनि आज विहान पानी परेको छ  ।  मौसम पनि अंध्यारो भएको छ । यस्तै छिमेकी तराइका जिल्लाहरु रुपन्देही, दाङ, बाँके, बर्दिया, नवलपरासीमा पनि आज हावासंगै पानी परेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । पानी परेसंगै चिसो पनि ह्वात्तै बढेको छ । हिजो अस्तिको तुलनामा आज चिसो बढेको छ । पानीसंगै हावाहुरी पनि आएकाले बढी चिसो भएको सर्वसाधारणले बताएका छन् । उता च्च पहाडी र हिमाली भेगमा विहिबारदेखि नै हिमपात भइरहेको छ ।यस्तै देशका उच्च पहाडी भूभागमा आज दिनभर भारी हिमपातको सम्भावना रहेको मौसमविद मीनकुमार अर्यालले जानकारी दिनुभयो  । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात र मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना देखिएको मौसमविद अर्यालले बताउनु भयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा हिमपातसँगै वर्षा र सामान्य हुरी समेत चल्ने सम्भावना छ । हिमपात र वर्षा भएसँगै देशभर जाडो बढेको छ ।  पश्चिमि निम्न चापिय प्रणालीको प्रभाव आज रातिसम्म कायमै रहने मौसमविद अर्यालको भनाई छ । काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको अर्यालले बताउनु भयो ।  राति बदली भएका कारण शुक्रबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : २७ मंसिर २०७६ शुक्रबार ००:००  ८ : ४७ बजे