९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

पहिलो उडान भर्नेहरु भन्छन्ः आकाशबाट हेर्दा बाणगंगा स्वर्गजस्तो देखियो  



मायादेवी अनलाइन, कपिलवस्तु । 

कपिलवस्तुको बाणगंगा ४ जितपुरमा जारी एघारौँ कपिलवस्तु महोत्सवमा विहिबारबाट सुरु भएको हेलिकप्टर उडानमा  दर्शकको आकर्षण बढेको छ । मौसम प्रतिकुलताका कारण पहिलो दिन एउटा मात्र उडान भरेको हेलिकप्टरले आज  शुक्रबार चारपाँच उडान भर्ने महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार खाँणले बताउनु भयो । मौसमले साथ दिएसम्म अधिकतम उडान भर्ने गरी तयारी गरिएको पनि उहाँले बताउनु भयो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जिल्लामा पहिलोपटक हेलिकप्टर मार्फत नगरका पर्यटकीय स्थलको अवलोकन गराइदै छ । यो अभियानमा साथ दिन पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

पहिलो दिन विहिबार ४ जना स्थानियले नगरका पर्यटकिय स्थलको अवलोकन गरेका छन् । समाजसेवी सागर श्रेष्ठ, दिपक थापा, दिलिप कार्की र ९९ वर्षिय जेष्ठ नागरिक लालमणि न्यौपानेले हेलिकप्टरबाट पर्यटकिय क्षेत्रको अवलोकन गर्नुभएको हो । हेलिकप्टरबाट नगरका दृश्य हेर्दा निकै नौलो अनुभूति भएको ज्येष्ठ नागरिक न्यौपानेले मायादेवी अनलाइनसंग बताउनु भयो । चाख लागेको  उडान गरेपछि आज पनि हेलिकप्टरबाट नगरलाई दृश्यावलोकन गर्न पाउनु सौभाग्य भएको उहाँले बताउनु भयो । आफू धेरैपटक जहाज र हेलिकप्टर चढे पनि बुद्ध रंगशालाबाट चढेर यसरी आफ्नै भूमि हेरेको पहिलो पटक भएको भन्दै नौलो अनुभूति बटुलेको न्यौपानेको भनाई छ । यस्तै समाजसेवी तथा शिक्षाप्रेमी दिलिप कार्कीले भुँइबाट भन्दा आकाशबाट नगरपालिका निकै भिन्न देखियो । आकाशबाट हेर्दा बाणगंगा नगरपालिका स्वर्गको टुक्राजस्तै देखियो । सुन्दर, सफा, घरहरु पनि टुसुक्क बसेजस्ता, बाटाहरु नागबेली देखिएकाले निकै खुसी लागेको कार्कीले मायादेवी अनलाइनसंग बताउनु भयो । त्यस्तै समाजसेवी सागर श्रेष्ठले पनि आकाशबाट बाणगंगा नगरपालिका हेर्दा निकै रमाइलो लागेको बताउनु भयो ।

हेलिकप्टरबाट यस क्षेत्रका मुख्य धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको परिक्रमा गराइएको छ । हेलिकप्टर चढ्नको लागि टिकटको मुल्य ५ हजार २ सय कायम गरिएको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले बताउनु भयो ।दोश्रो लामो प्रयासपछि अन्ततः हेलिकप्टरलाई बुद्ध रंगशालामा अवतरण गराउन सफल भएका कारण हेलिकप्टर चढ्ने रहर पुरा गर्न पनि आयोजकले सबैलाई अनुरोध गरेको छ । महोत्सव स्थलमा टिक काटेर चढ्ने मात्र नभएर हेर्ने दर्शकको भीँड पनि बढेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६ शुक्रबार ००:००  ७ : ३१ बजे