बुटवल ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ । शाइन रेसुंगाले प्रदेश ५ कै अन्य तीनवटा विकास बैंकलाई प्राप्ति गरेपछि राष्ट्रियस्तरमा स्तरोन्नति भएको हो ।
प्रदेश ५ का विभिन्न जिल्लामा केन्द्रीय कार्यालय रहेका विकास बैंकहरु मिलेर राष्ट्रियस्तरको विकास बैंकको स्वीकृति पाउनेमा शाइन रेसुंगा पहिलो बैंक बनेको छ ।
नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्न दुई अर्ब ५० करोड चुक्ता पुँजी तोकेकामा शाइन रेसुंगाको चुक्ता पुँजी दुई अर्ब ६२ करोड रहेको छ ।
देशभर हाल ११ वटा राष्ट्रियस्तरका विकास बैंक रहेका छन् । २०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा स्थापना भएको गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंक २०६९ मा मर्ज भई १० जिल्ला कार्यक्षेत्रसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो ।
शाइन रेसुंगाले प्यूठान जिल्ला कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई २०७३ जेठमा गाभेको थियो भने गतवर्ष मात्रै तीन जिल्ला कार्यक्षेत्र रहेको पूणिर्मा विकास बैंक र पाँच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी गत असोजबाट एकीकृत कारोबार सुरु गरेको थियो ।
बैंकको अहिले प्रदेश ५ का रोल्पा र रुकुम बाहेकका १० जिल्ला तथा प्रदेश ३ को चितवन र गण्डकी प्रदेशको बागलुङ गरी १२ जिल्ला कार्यक्षेत्र छन् । शाइन रेसुंगाले नेपाल राष्ट्र बैंकबाट यही मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकको रुपमा कारोबार गर्न स्वीकृति प्राप्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले बताउनुभयो ।
बैंकको अधिकृत पुँजी पाँच अर्ब र जारी पुँजी दुई अर्ब ६२ करोड रहेको बैंकको ७० वटा शाखा र एउटा एक्सटेन्सन कार्यालय छन् । प्रदेश ५ मा मात्रै बैंकका ६९ वटा शाखा कार्यालय छन् ।
२६ मंसिर २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया