मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा ४ जितपुरमा जारी एघारौँ कपिलवस्तु महोत्सवमा आजबाट हेलिकप्टरबाट पर्यटकीय स्थलको अवलोकन हुने भएको छ । त्यसका लागि हेलिकप्टर आज विहानै १० बजे आइसकेको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनुभएको छ ।
मुख्यगरी हेलिकप्टरबाट नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जिल्लामा पहिलोपटक नगरका पर्यटकीय स्थलको अवलोकन गराइने भएको छ । आयोजक बाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटी एवम् मेला मूल आयोजक समितिका संयोजक राजकुमार खाँणका अनुसार पौष २६, २७, २८ र २९ गते गरी ४ दिनको लागि हेलिकप्टर उडान हुने छ । हेलिकप्टरबाट बाणगंगा नगरपालिका भित्रका मुख्य धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको परिक्रमा गराइने आयोजकको तयारी रहेको छ । हेलिकप्टरबाट नगरका साथै सम्भव भएसम्म जिल्लाका तिलौराकोट, जगदिशपुर ताल लगायतलाई पनि आकाशबाट अवलोकन गर्ने गरी तयारी गरिएको खाँणले जानकारी दिनुभयो । हेलिकप्टर चढ्नको लागि टिकटको मुल्य ५ हजार २ सय कायम गरिएको छ ।
प्रतिक्रिया