मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा ४ जितपुरमा जारी एघारौँ कपिलवस्तु महोत्सवमा विहिबार (भोली) बाट हेलिकप्टरबाट पर्यटकीय स्थलको अवलोकन हुने भएको छ । मुख्यगरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जिल्लामा पहिलोपटक हेलिकप्टरबाट नगरका पर्यटकीय स्थलको अवलोकन गर्ने कार्यक्रम आयोजना गरिएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार खाँणका अनुसार पौष २६, २७, २८ र २९ गते गरी ४ दिनको लागि हेलिकप्टर उडान हुने छ । हेलिकप्टरबाट बाणगंगा नगरपालिका भित्रका मुख्य धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुका साथै सम्भव भएसम्म जिल्लाका तिलौराकोट, जगदिशपुर ताल लगायतलाई पनि आकाशबाट अवलोकन गर्ने गरी तयारी गरिएको खाँणले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । हेलिकप्टर चढ्न चाहानेहरुले अग्रिम टिकट बुकिङ गर्नुपर्ने महोत्सवका निर्देशक दिनेश क्षेत्रीले बताउनु भयो । टिकटको मुल्य ५ हजार २ सय कायम गरिएको छ । हेलिकप्टर चढ्ने धेरैको इच्छा रहेकाले छिटै टिकट बुकिङ गर्न क्षेत्रीले सबैलाई आग्रह गर्नुभयो ।
महोत्सवका अन्य गतिविधि
महोत्सवको सर्वाधिक आकर्षणको रुपमा रहेको डान्स आइडलबाट उत्कृष्ट ८ प्रतियोगि छनौट भएका छन् । आइडलकोे सातौँ दिन बुधबार प्रतिक अधिकारी बाहिरिएपछि अब मञ्चमा ८ जनाले प्रतिस्पर्धा गर्ने छन् । बुधबारको प्रस्तुतीसंगै दर्शकको भोटको आधारमा विहिबार पनि एक जना बाहिरिने छन् । डान्स आइडलबाट बाहिरिएका प्रतिक अधिकारीलाई जिल्ला समन्वय समितीका प्रमुख नारायण खनाल, महोत्सवका निर्देशक दिनेश क्षेत्री लगाएतले मायाको चिनो प्रदान गरेर विदाई गर्नु भएको थियो ।
महोत्सवको सातौँ दिन बुधबार लोकदोहोरी गायक शिव हमाल, लोक दोहोरी गायिका शान्ति श्री परियार, नेपाल आइडल उत्कृष्ट ५ का अमित बराल लगायतले प्रस्तुति दिनु भएको थियो । आठौँ दिन (मंसिर २६ गते विहिबार) को मुख्य आकर्षणको रुपमा लोक दोहोरी गायक खुमन अधिकारी, तृष्णा गुरुङ, हास्य कलाकार कमला रेग्मी लगायतका चर्चित कलाकार रहेका छन् । मंसिर १९ गतेबाट सुरु भएको महोत्सवको सातौ दिन सम्म आइपुग्दा दर्शकको सहभागिता सन्तोषजनक रहेको आयोजकले जनाएको छ । यस्तै महोत्सवमा राखिएका कृषि प्रदर्शनीमा पनि दर्शकको भीँड लागेको छ । महोत्सवमा कृषि स्टलतर्फ बिभिन्न कृषि उत्पादनहरुलाई प्रदर्शनीमा राखिएको छ ।
२५ मंसिर २०७६ बुधबार ००:००
4
Shares
प्रतिक्रिया