काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरुलाई बुधबार सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सागमा स्वर्ण, रजत तथा कास्य पदक जित्ने नेपाली खेलाडीलाई बधाई दिनका लागि सरकारी निवास बालुवाटारमा बोलाएका छन् । सबै खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई प्रधानमन्त्री ओलीले दिउँसो साढे २ बजे बालुवाटारमा आउनका लागि निम्तो दिएको प्रेस संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।
पदक जितेर खेलाडीहरुले देशको प्रतिष्ठा र गौरव बढाएकाले उनीहरुको सम्मानमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने थापाले जानकारी दिएका छन् । ओलीले सम्बोधनको क्रममा खेलाडीका लागि विशेष प्याकेजको घोषणा गर्ने समेत जनाइको छ । बिरामी भएका कारण प्रधानमन्त्री ओली सागमा प्रत्यक्ष रुपमा उपस्थित हुन सकेका थिएनन् । उनले मंगलबार बेलुका भएको समापन समारोहमा भिडियो सन्देश पठाएका थिए । प्रधानमन्त्री ओलीले मंगलबार बेलुका नै नियमित डायलासिस समेत गरेका थिए ।
नेपालले ५१ स्वर्ण पदकसहित मंगलबार १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को बिदाइ गरेको हो । सागको ३५ वर्षे इतिहासमा नेपालले यसपटक कीर्तिमानी प्रदर्शन गरेको हो । नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ । यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।
तेह्रौँ सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जित्यो । सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको छ । नेपाल सुटिङमा भने पदकबिहीन रह्यो ।
नेपालले आठौँ साग जस्तै यसपटक तेक्वान्दो र करातेमा सफलता प्राप्त ग¥यो । तेक्वान्दोबाट सर्वाधिक १२ तथा करातेबाट १० स्वर्ण पदक प्राप्त भयो । बक्सिङमा नेपालले दुई दशकपछि स्वर्ण पदक पायो । बक्सिङमा नेपालले तीन स्वर्ण जितेको छ । तेह्रौँ सागमा पौडीकी गौरिका सिंह सर्वाधिक सफल खेलाडी बनिन् । उनले सागको एउटै संस्करणमा चार स्वर्ण जित्दै कीर्तिमान बनाइन्।
यस्तै कराँतेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्णको कीर्तिमान बनाए । महिला क्रिकेटतर्फ अञ्जली चन्दले दुई दशमलव एक ओभर बलिङ गर्दै बिना कुनै रन ६ विकेट लिएर विश्व कीर्तिमान बनाइन् । तेह्रौँ सागका खेल काठमाडौँ, ललितपुर, पोखरा र जनकपुरमा खेलाइएका थियो ।
भारत १७४ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित कूल ३१२ पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा रह्यो । यस्तै श्रीलङ्का ४० स्वर्ण, ८३ रजत र १२८ कास्यसहित कूल २५१ पदक जित्दै तेस्रो, पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित कूल १३१ जितेर चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित कूल १३८ पदक जितेर पाँचौँ, माल्दिभ्स एक स्वर्ण र चार कास्य गरी कूल पाँच पदक जित्दै छैटौँ तथा भूटान सात रजत र १३ कास्यसहित कूल २० पदक जित्दै साग पदक तालिकाको अन्तिम स्थानमा रह्यो ।
प्रतिक्रिया