एजेन्सी ।
फिनल्यान्डमा ३४ वर्षीया सन्ना मरिन मंगलवार प्रधानमन्त्रीका रूपमा संसद्बाट अनुमोदित भएकी छन्। प्रधानमन्त्री मरिनले आफ्ना लागि कम उमेर वा महिला हुनुले कुनै अर्थ नराख्ने बताएकी छन्। उनले क्षमतामा विश्वास राख्ने गरेको स्पष्ट पारेकी छन्।
मरिनले भनिन्, ‘मैले कहिले पनि आफ्नो उमेर वा लिंगको बारेमा सोचिनँ। म क्षमतामा विश्वास राख्छु।’ उनले राजनीतिमा आउन मिलेको प्रेरणा र क्षमतामा विश्वास गरेका व्यक्तिप्रति आभार व्यक्त गरिन्।
मरिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलका नेतृत्व महिलाहरूले गरेका छन्। गठबन्धनमा सोसल डेमोक्र्याट्स, सेन्टर, ग्रिन्स, लेफ्ट एलायन्स र स्वीडिस पीपल्स पार्टी रहेका छन्।
राजीनितक अस्थिरतामा फसेको फिनल्यान्डकी प्रधानमन्त्री बनेकी मरिन विश्वकै सर्वाधिक कम उमेरमै प्रधानमन्त्री बन्ने व्यक्ति बन्न पुगेकी छन्। गठबन्धन सरकारका रहेका पाँच दलमध्ये फिनल्यान्ड सोसल डेमोक्र्याटिक पार्टी ९एसडीपी०ले प्रधानमन्त्रीमा उनको नाम सिफारिस गरेको थियो। कान्छा प्रधानमन्त्रीमध्ये यूक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न ३९ वर्षकी छन्।
हुलाक सेवामा भएको हडतालको विषयले भयानक रूप लिँदै गएपछि निवर्तमान प्रधानमन्त्री रिन्नेले विश्वासको मत गुमाएर राजीनामा गरेका थिए। प्रधानमन्त्रीका लागि निर्वाचित भएसँगै उनले छोटो वक्तव्य दिँदै सबै दललाई एकजुट हुन आह्वान गरेकी छन्।
रिन्ने नेतृत्वको सरकारमा मरिन गत जुनदेखि यातायात तथा सञ्चारमन्त्री थिइन् भने सन् २०१५ देखि उनी संसद् हुन्। उनले यसअघि पनि विभिन्न राजनीतिक जिम्मेवारीमा रहेकी थिइन्। आमाले एक्लै हुर्काएकी मरिनले प्रशासनशास्त्रमा स्नातकोत्तर गरेकी छन् भने विश्वविद्यालयमा पढ्न जानेमा उनी आफ्नो परिवारको पहिलो व्यक्ति पनि हुन्।
२५ मंसिर २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया