९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गरेकी छन् । मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दिएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरिएको उल्लेख छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस ४ गते संघीय संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो हाल प्रतिनिधिसभा सभामुखविहीन अवस्थामा रहेकाले उपसभामुख शिवमाया तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्नेछिन् । संसदको बजेट अधिवेशन सकिएलगत्तै तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै महिला कर्मचारीमाथि जबर्जस्ती करणीको अभियोगमा मुछिएपछि राजीनामा दिएका थिए । सभामुख रिक्त रहेकाले प्रतिनिधिसभा हिउँदे अधिवेशनको पहिलो काम सभामुख चयन हुनेछ । संसद बैठक सञ्चालन भएपछि नयाँ सभामुख चयन प्रक्रियाको बाटो खुल्नेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७६ बुधबार ००:००  ६ : ४४ बजे