९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

इट्टा उद्योगमा हुने वालश्रमलाई न्यूनिकरण गर्नुपर्छः मन्त्री गिरी



बाबुराम रायमाझी, (बुटवल) ।
प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले मुलुकको प्रगतिको लागि सबैले आ-आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालमा थुप्रै राजनीतिक परिवर्तनबाट अहिलेको उपलब्धी हासिल भएको भन्दै मन्त्री गिरीले राज्यको कानुन अनुसार सबै चल्नुपर्ने बताउनुभयो ।
घर-घरमा शिक्षा आत्मनिर्भर विकास संस्थाले बुटवलमा आयोजना गरेको श्रम मैत्री ईटा उद्योग विषयक अन्तरक्रिया तथा बालश्रम मुक्त इटा उद्योगी सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
इट्टा उद्योगमा बालश्रम हुने गरेको भन्दै यसलाई अन्त्य गर्न सबै लाग्नुपर्ने बताउनुभयो । संविधानले बालश्रम प्रयोगमा प्रतिबन्ध लगाएको यसको ख्याल गर्न उहाँले उद्योगीलाई आग्रह गर्नुभयो ।
उक्त अवसरमा प्रदेश सभा सदस्य दधिराम न्यौपाने, पुष्पा चौधरी, कांग्रेस रुपन्देही उप सभापति फणिन्द्र शर्मा, इट्टा उद्योगी डम्मर शर्मा, गुड वेभका प्रतिनिधि सम्झना शर्मा लगायतले बोल्दै उद्योगी बालमैत्री हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा इट्टा उद्योगमा श्रमिकहरुलाई श्रमिक मैत्री वातावरण तयार गर्न सामाजिक उत्तरदायित्व वहन गरेको भन्दै आधा दर्जन बढी उद्योगीलाई सम्मान गरिएको थियो । यस्तै सञ्चारको क्षेत्रबाट बालमैत्री उद्योग सञ्चालनमा कलम चलाएवापत मायादेवी मिडिया गु्रपका अध्यक्ष तथा कार्यकारी निर्देशक हरि अधिकारी, कपिलवस्तुका बरिष्ठ पत्रकार तथा कान्तिपुर दैनिकका उपसम्पादक मनोज पौडेल लगायतका पत्रकारलाई सम्मानित गरिएको थियो ।
नेपालमा इट्टा उद्योगले २ लाखलाई रोजगार प्रदान गरेको र प्रदेश नं. ५ मा दुई सय ५९ वटा उद्योग रहेको घर-घरमा शिक्षा आत्मानिर्भर विकास संस्थाका अध्यक्ष दुर्गा अर्यालले जानकारी गराउनु भएको थियो । प्रदेश ५ मा सबैभन्दा बढी इट्टा उद्योग कपिलवस्तुमा रहेको प्रतिवेदन पनि उहाँले सुनाउनुभएको थियो ।
बेटर ब्रिक नेपाल लगायतको सहयोगमा कपिलवस्तुस्थित घरघरमा आत्मनिर्भर विकास संस्थाले इट्टा उद्योगमा बालबालिकाको प्रयोग गर्न नदिने वातावरणका लागि कपिलवस्तु र रुपन्देहीमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६ मंगलबार ००:००  ७ : ३० बजे