दिपक अनुरागी, (बुद्धभूमि) कपिलवस्तु ।
साताव्यापी धार्मिक तीर्थस्थलको भ्रमणमा पश्चिम नेपाल आएका पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार कपिलवस्तुको भ्रमण गरेका छन् । पूर्व निर्धारित कार्यक्रम अन्र्तगत पूर्व राजा शाहले मंसिर २० गते शुक्रबार जिल्लाको गोरुसिंगेस्थित पशुपति मन्दिरको दर्शन गर्ने कार्यतालिका थियो । सोही अनुसार मन्दिरको अवलोकनका लागि पूर्वराजा शाह शुक्रबार कपिलवस्तु आएका हुन् । उनी दिउँसो अन्दाजी साढे तीन बजे रुपन्देही हुँदै कपिलवस्तु प्रस्थान गरेका थिए । पूर्व पश्चिम महेन्द्र राजमार्ग हुँदै आएका उनी आफै ड्राइभरको भूमिकामा थिए । आफै ड्राइभिङ गरेरै उनी कपिलवस्तुको भ्रमणमा निस्किएका हुन् ।
अपराह्न पख गोरुसिंगे उत्रिएका उनी झण्डै दुई किलोमिटर हिडेरै पशुपति मन्दिर दर्शकका लागि पुगेका थिए । राजाको स्वागत गर्न हजारौं कपिलवस्तुबासी हातमा फूलका गुच्छा लिएर बाटोभरी लामबद्ध भई बसेका थिए । पूर्व राजा शाहले जनताले दिएको पुष्प गुच्छालाई मुसुक्क हाँस्दै स्विकार गरेका थिए । यतिमात्र होइन् उनलाई स्वागत गर्न बालबच्चा पनि लामबद्ध देखिन्थे । कतिपय बालबच्चाले दिएको पुष्प गुच्छालाई स्विकार्दै उनले ‘अङ्गालो’ समेत हालेका थिए । पूर्व राजा शाहले बालबच्चालाई निकै सद्भाव देखाउने गरेका छन् । विगतका भ्रमणमा पनि उनले यही शैली अपनाएका थिए ।
शाहले पशुपति मन्दिरमा झण्डै २० मिनेट पूजाआरधाना गरे । उनलाई मन्दिरका पूजारीले टीका समेत लगाईदिएका थिए । पूजारीले पढेको मन्त्र सुन्दै उनले २० मिनेट पशुपतिनाथ प्रति दुई हात जोडेर प्रार्थना गरे ।
भ्रमणको क्रममा उनी केही बोलेनन् । जनताले दिएको पुष्पगुच्छा मुसुक्क मुस्कुराउँदै स्विकार गर्नु बाहेक उनी केही नबोलेका हुन् । बरु बालबच्चा भएको स्थानमा उनी बच्चालाई उचाल्दै ‘के छ’ भन्दै प्रश्न सोधेका थिए । पूर्वराजा भएपछि ज्ञानेन्द्रको कपिलवस्तु आगमन पहिलो भने होइन् । यसभन्दा अगाडी नै उनी कृष्णनगर र तौलिहवाको भ्रमण गरिसकेका थिए । तर, शुक्रबारको जिल्ला भ्रमणमा पूर्व राजा शाहले हजारौं कपिलवस्तुको माया पाएका छन् । उत्तिकै मात्रमा सद्भाव पाएका छन् । बालबच्चादेखि बृद्धबृद्धा समेतर गरी शाहलाई हेर्न ओर्लिएको जनसागरले एउटा प्रश्न खडा गरिदिएको छ । पूर्व राजा प्रति जनताको यतिसाह्रो ‘क्रेज’ हो कि ‘सद्भाव’ ?
पूर्व राजा शाहलाई हेर्न सर्वसाधारण मात्र गएनन । कतिपय राजनीति दलका ठूला ठूला नेतापनि पुगे । यसले उनी प्रतिको ‘सद्भाव’ देखाउँछ । ‘राजा आउँ देश बचाउँ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा व्यारो छ’ भन्दै घन्किएको नाराले उनीप्रतिको ‘क्रेज’ देखाएको छ । अधिकांश जनताले उनलाई पुष्पगुच्छा दिन चाहन्थे । काखमा बच्चा च्यापेर आएका महिला दिदीबहिनी बच्चाको कुनै प्रवाह नगरि हुलभित्र घुस्न चाहन्थे । बृद्धबृद्धा आफ्नो ज्यानको ख्याल नगरि भीडको बीचमा उत्तेजित तरिकाले छिर्न खोज्थे । कतिपयले मोबाइलमा पूर्व राजाको तस्बीर कैद गर्न खोज्थे । जसरी भएपनि शाहसंग कतिपयले ‘सेल्फी’ खिच्न खोज्थे । यतिमात्र होइन् पूर्व राजाले केही शब्द बोल्नु पर्छ भन्ने पनि थिए । पूर्व राजालाई हेर्न पुगेका कतिपय राजनीति दलका नेताहरु भने पत्रकारको क्यामेरा आफु तर्फ तेस्रिन्छ कि भनेर तरकतरक तर्केका दृश्य पनि प्रष्ट देखिन्थ्यो ।
पूर्व राजा शाहलाई हेर्न र स्वागत गर्न ओर्लिएको जनसागर स्वतस्र्फुत आएको हो । पूर्व राजा आउने कार्यतालिकाबारे जिल्लास्थित केही सञ्चार माध्यमले समाचार प्रकाशन÷प्रशारण गरेपनि बाहिरी प्रचार प्रसार त्यति तीव्र थिएन । उनलाई कसले कपिलवस्तु भित्त्रायो ? अधिकांश अनविज्ञ छन् । संवैधानिक राजसंस्था ल्याउनुपर्छ भन्दै राजनीति गर्दै आएको राप्रपाको प्रभाव पनि कपिलवस्तुमा खासै छैन् । राजाको पक्षपाति संस्था शिव सेना नेपालको प्रभाव पनि यहाँ खासै छैन । तरपनि जनता पूर्व राजालाई हेर्न स्वर्तस्फुर्त ओर्लिएका छन् । पूर्व राजाले दर्शन गरेको पशुपति मन्दिरको गेटमा आयोजक मूल आयोजक समिति भन्ने व्यानर थियो । अमूर्त संगठन जस्तै लाग्ने आयोजकको यो नामले कार्यक्रम कस्ले आयोजना गरेको हो प्रष्ट पार्दैनथ्यो ।
प्रतिक्रिया