८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गोपीलाई ५ हजार मिटर दौडमा स्वर्ण! , १४ मिनेट ५४.२० सेकेन्डमा दुरी पुरा



काठमाडौं । धावक गोपीचन्द्र पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । नेपालकै हरिकुमार रिमाल उक्त स्पर्धामा तेस्रो भए ।

गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे । उनले भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडी पारेका थिए । सुनिलले १४ मिनेट ५५.२१ सेकेन्डमा दुरी पुरा गरे । नेपालका हरिकुमार रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्दै कास्य जिते ।

दौडका दौरान अधिकांश समय शीर्ष तीनमै रहेका गोपीले अन्तिम १ सय मिटरमा मात्र अग्रता लिएका थिए । भारतका सुनिलले अन्तिम २ सय मिटर बाँकी रहँदा तीव्र गति लिंदै एक समय झन्डै २० मिटरको अग्रता बनाएका थिए । तर गोपीले आफ्नो गति बढाउँदै अन्तिम १ सय मिटर बाँकी रहँदा अग्रता लिन सफल रहे ।

योसँगै एथलेटिक्समा नेपालले १३ औँ सागमा दोस्रो स्वर्ण जितेको छ । यसअघि सन्तोषीले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ३७ पुगेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६ शुक्रबार ००:००  १० : ३५ बजे