८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

महोत्सव उद्घाटन समारोहमा ‘प्रदेश राजधानी’को चर्चा, कस्ले के भने ?



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुबाट केन्द्रीय राजनीतिमा प्रभाव राख्ने नेताहरुले प्रदेश ५ को राजधानी कपिलवस्तुमै हुनुपर्ने जोडदार माग गरेका छन् । एघारौं कपिलवस्तु महोत्सवको उद्घाटनसस्त्रमा बोल्ने पूर्व मन्त्री, बहालवाला सांसद तथा जिल्ला नेताहरुले कपिलवस्तु प्रदेश राजधानी हुने विभिन्न आधारहरु पनि प्रस्तुत गरेका छन् ।
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको बीचमा कपिलवस्तुका नेताहरुले प्रदेशको राजधानी बनाउने आधारहरु प्रस्तुत गरेका हुन् ।
निवर्तमान कृषि मन्त्री तथा प्रतिनिधिसभा सदस्य चक्रपाणी खनाल ‘बलदेव’ ले ऐतिहासिक प्रमाण र जनताको भनाईको आधारमा कपिलवस्तु प्रदेशको राजधानी उपयुक्त रहेको बताउनुभयो । ऐतिहासिक प्रमाणहरु त अरु जिल्लाको पनि होला त्यसलाई स्विकार गर्छु तर, कपिलवस्तुको जस्तै ऐतिहासिक प्रमाण कुनै जिल्लामा छैन् पूर्वमन्त्री खनालले भन्नुभयो, ‘यो नै राजधानीका लागि पहिलो आधार हो ।’ राजधानी भए मात्र विकास हुने भन्ने पक्षमा आफु भने नरहेको उहाँले प्रष्टाउनुभयो । राजधानी हुँदैमा विकास त हुने होइन्, तर ऐतिहासिक प्रमाणलाई आधार मान्दा देशलाई नै फाइदा हुन्छ ।


प्रतिनिधिसभा सदस्य अतहर कमालले प्रदेश ५ को राजधानी तिलौराकोटमा बनाउनुपर्ने बताउनुभयो । दाङ र रुपन्देहीको मारमा कपिलवस्तुलाई पार्न खोजिएको भन्दै प्रदेशको संरचना प्रतिनै उहाँले आपत्ति जनाउनुभयो । प्रदेशको राजधानी बनाउन कपिलवस्तुमा प्रयाप्त जग्गा भएको पनि उहाँले सुनाउनुभयो ।


पूर्वमन्त्री दीपकुमार उपाध्यायले विकासमा जस लिने काम गर्न नहुने बताउनुभयो । विकास सोच भएको भन्दै यसमा सबैको चासो हुनु स्वभाविक रहेको बताउनुभयो । कपिलवस्तु बौद्धिकालिन र हिन्दु सभ्यतामा धनी रहेको भन्दै यसको विकास लुम्बिनी विकास कोषले गर्न नसकेको बताउनुभयो । अब बृहत्तर लुम्बिनी गुरुयोजना नबनाई यहाँको विकास हुन नसक्ने भन्दै सरकारको ध्यान यता तर्फ जानुपर्ने बताउनुभयो ।


प्रदेश सांसद विष्णु पन्थीले कपिलवस्तुको विकासमा सबै पार्टी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । जिल्लाको बिकासमा कपिलवस्तु विकास पार्टी बनाऔं भन्दै भाषण गर्दै आउनुभएका सांसद पन्थीले आजपनि त्यही कुरालाई दिनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा प्रदेशका ५२ निर्वाचन क्षेत्रमा भन्दा बढी बजेट आएको पनि उहाले सुनाउनुभयो । अब गाउँ गाउँमा विकासको लहर आउने जिकिर गर्नुभयो । वाणगंगा नदीलाई जलभण्डार गरी सिंचाईको सुविधा पुर्याउने गरी काम भैरहेको भन्दै प्रदेश सांसद पन्थीले विपी मेमोरियल पोलिटेक्निकन इन्स्च्यिुटको टेण्डर पनि खुलिसकेको बताउनुभयो ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष झविलाल पोख्रेलले प्रदेशको राजधानी जिल्लाको जुनसुकै स्थानमा भएपनि हुनुपर्ने बताउनुभयो । बुटवल सागुरो बन्दै गएको भन्दै कपिलवस्तु भौगोलिक हिसाबले पनि प्रदेश राजधानीको उत्तम ठाउँ भएको जिकिर गर्नुभयो ।


नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले प्रदेश राजधानी कहाँ बनाउने भन्ने तानातानको स्थितीमा कपिलवस्तु सबैको निर्विवाद ठाउँ बन्नेमा आशा व्यक्त गर्नुभयो । यसमा ठूला नेताको पनि ध्यान जानेमा आचार्यले विश्वास व्यक्त गर्नुभयो ।
वाणगंगा वेलफेयर सोसाइटीका पूर्व अध्यक्ष विष्णु थापाले कपिलवस्तु सधै पछाडि पर्दै आएको भन्दै नेताहरु सच्चिएर अगाडी बढ्नुपर्ने बताउनुभयो । किसानलाई सिंचाई र मलको अभाव सधै हुने गरेको भन्दै यो समस्याको समाधान कसले गर्ने भन्दै प्रश्न गर्नुभयो ।
वाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणको अध्यक्षता, सचिव युवराज पन्थीको स्वागत मन्तव्यमा भएको उद्घाटनसस्त्रमा महासचिव दिनेश क्षेत्रीले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६ बिहिबार ००:००  ८ : ०१ बजे