८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सुरु भयो ११ औँ कपिलवस्तु महोत्सव, शुक्रबारदेखि डान्स आइडल र सांस्कृतिक कार्यक्रम



मायादेवी अनलाइन, वाणगंगा ।
बुद्ध रंगशाला बाणगंगा ४ जितपुरमा विहीबारबाट ११ औँ कपिलवस्तु महोत्सव सुरु भएको छ । बाणगंगा स्पोर्टट्स एण्ड वेलफेयर सोसाइटीको आयोजनामा ‘युवा क्षमतामा अभिवृद्धि, पर्यटन र कृषिमा समृद्धि’ भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको हो । महोत्सवको विहीबार पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले उद्घाटन गर्नु भयो ।
उद्घाटन पूर्व स्थानीय विद्यालय तथा सामाजिक संघ संस्थाले बाजागाजा र बिभिन्न भेषभूषा झल्कने खालका सांस्कृतिक झाँकी निकालेका थिए । बिभिन्न स्थानबाट आएको र्यालीमा ब्रह्म कुमारी इश्वरीय विश्वविद्यालय, बिभिन्न आमा समुह, भजन मण्डली, लगायतले आकर्षक प्रस्तुति दिएका थिए । पौष १ गतेसम्म हुने महोत्सवबाट ३ लाख दर्शकले अवलोकन गरी ५ करोड बराबरको आर्थिक कारोबार हुने मेला मूल आयोजक समितिका संयोजक राजकुमार खाँणले जानकारी दिनुभयो । महोत्सवको पहिलो दिन विहीबार हजारौं दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।
यसैबीच यसपटकको महोत्सव गत बर्षहरुमा बिभिन्न कारणले फरक रहेको छ । मुख्यतया सचिवालयको नयाँ निर्माणले दर्शकको मन तानेको छ । जिल्लामा ११ औँ संस्करणसम्म महोत्सव आउँदा पहिलोपटक सचिवालय पशुपतिनाथ मन्दिरको ढाँचामा बनाइएको छ । साथै सचिवालय वरिपरि नेपाल भ्रमण बर्ष २०२० को हस्तनिर्मित सुन्दर लोगो, नेपालका धार्मिक तथा सामाजिक सांस्कृति चिनारी झल्काउने गरी बनाईएका सम्पदाहरुमा दर्शकको फोटो खिच्न भीँड गरेको देखिएको छ ।
यस्तै बिभिन्न कृषि स्टलहरुलाई पनि दर्शकले रुचाएका छन् । यस्तै महोत्सवमा बनाइएको मायादेवी मन्दिर ढाँचाको प्रवेशद्धारले पनि मेलामा आकर्षण थपेको छ । यस्तै यसपटक महोत्सवमा भएका २ सय ६० बढी स्टललाई आकर्षक ढंगले सिंगारिएको छ । मूलद्धारबाट प्रवेश गर्ने वित्तिकै देख्न सकिने फोटो प्रदर्शनीले पनि दर्शकको मन खिचेको छ । सो पर्यटन प्रर्दशनीमा जिल्लाका चिनारी झल्काउने धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदाहरुका सुन्दर फोटाहरुलाई सजाएर प्रदर्शनीको लागि राखिएको छ । यस्तै कृषि प्रदर्शनीको लागि अत्याधुनिक कृषि औजार, कृषि तथा औद्योगिक उत्पादनको प्रदर्शनी पनि महोत्सवको आर्षण बनेको छ । महोत्सवमा सुरक्षा ब्यवस्था पनि कडा पारिएको छ ।
महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा संवेदनशिलतामा आयोजक सजग बनेको हो । सुरक्षाको लागि गेट बाहिर र भित्र नेपाल तथा सशस्त्र प्रहरी परिचालन भएका छन् भने सय भन्दा बढी संख्यामा सेक्यूरिटीको ब्यवस्था गरिएको छ ।
यस्तै मूल गेट बाहिरदेखि स्टेजसम्मको लागि बिभिन्न स्थानमा ४० भन्दा बढी सिसीटिभी क्यामेरा जडान गरिएको छ । विहीबार पहिलो दिन भएकाले उद्घाटन सत्र मात्र भएको छ । शुक्रबारबाट मात्र महोत्सवमा मनोरंजनका कार्यक्रम सुरु हुने आयोजकले जनाएका छन् । महोत्सवको सबैभन्दा आकर्षक कार्यक्रमका रुपमा रहेको नवौँ डान्स आइडल शुक्रबारबाट मात्रै सुरु हुने छ भने सांस्कृतिक कार्यक्रम पनि औपचारिक रुपमा सुरु हुने महोत्सवका निर्देशक दिनेश क्षेत्रीले बताउनु भयो ।
शुक्रबारका कार्यक्रममा चर्चित आधुनिक गायक रमेशराज भट्टराई लगायत राष्ट्रिय कलाकारको प्रस्तुति हुने छ भने डान्स आइडलका १५ जनाले आफ्नो प्रस्तुति देखाउने छन् । महोत्सवमा ज्येष्ठ तथा अपांगता भएका नागरिकलाई निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ भने विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा छुटको ब्यवस्था गरिएको छ । महोत्सव जिल्लाबासीको साझा पर्व भएकाले बुद्ध रंगशालामा आई अवलोकन गर्न पनि आयोजकले सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६ बिहिबार ००:००  ७ : ०७ बजे