मायादेवी अनलाइन, वाणगंगा ।
पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रदेशको राजधानी छलफलकै आधारमा टुंग्याउन सुझाव दिनुभएको छ । वाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको एघारौं कपिलवस्तु महोत्सवको विहीबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले उपयुक्त स्थानमा प्रदेशको राजधानी छिटो तोक्नुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता समेत रहनुभएका नेपालले प्रदेशको राजधानी तोक्दा भने भुगोलको इतिहास, भौगोलिक सन्तुलन र आधारविन्दुलाई ख्याल गर्नुपर्ने बताउनुभयो ।
नेता नेपाल भन्दा पहिला बोल्ने अधिकांश नेताले कपिलवस्तुलाई प्रदेशको स्थायी मुकाम बनाउने आधार प्रस्तुत गरेका थिए । कपिलवस्तुबाट केन्द्रिय स्तरमा प्रभाव राख्ने नेताहरुले प्रदेशको मुकाम कपिलवस्तुमा बनाउन जोड दिदै यस विषयमा नेता नेपालसंग आधिकारिक धारणा मागेका थिए । नेताहरुको भनाई सुन्नुभएका नेता नेपालले भन्नुभयो, ‘कपिलवस्तुबासीले व्यक्त गरेका भावनालाई मैले सुने । खण्डन गर्नुपर्ने बेला खण्डन गर्ने छु । प्रदेशको मुकाम तोक्दा सबैले हातेमालो गरेर तोक्नुपर्छ ।’ इतिहासको कुरा गर्दा लुम्बिनी र कपिलवस्तु महत्वपूर्ण स्थान हुन् ।
झण्डै पौने घण्टा नेपालको पर्यटन र संस्कृती क्षेत्रका विविध विषयबस्तुमा आधारित रहेर बोल्नुभएका नेता नेपालले नेपाल दुई धर्मको फ्युजन भएको तर्क गर्नुभयो । हिन्दु र बौद्ध धर्मको फ्युजन नेपाल रहेको भन्दै यसको तीव्र विकास गरेर देशलाई समृद्धिको दिशामा लैजानुपर्ने बताउनुभयो । हिन्दु र बुद्ध धर्मालम्वीहरुको नेपाल प्रमुख गन्तव्य रहेको भन्दै यसैबाट देशलाई विकास गर्न सकिने बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै नेता नेपालले कृषिमा आधुनिकिकरण, व्यवसायीकरण र यान्त्रिकिकरणको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । नेपालमा आयात बढी र निर्यात एकदमै कम हुने भन्दै यसमा सोच्नुपर्ने बताउनुभयो । ‘पाउडर दुध पनि विदेशबाट ल्याउँछौं नेता नेपालले भन्नुभयो, अब व्यवसायिक किसानलाई अनुदान, ऋण के दिएर कृषि क्षेत्रलाई व्यवसायिक बनाउनुपर्ने हो सरकारले त्यता सोच्नुपर्छ ।’
१९ मंसिर २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया