८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

ज्ञानेन्द्रको सतक संगै टी-ट्वान्टीमा नेपालको अहिलेसम्मकै बढी रन



काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टी-ट्वान्टीमा सतक प्रहार गरेका छन्। १३ औं सागअन्तर्गत बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको भुटानविरूद्धको खेलमा ज्ञानेन्द्रले ५२ बलमा सतक हानेका हुन्। ज्ञानेन्द्रले ५ चौका र ९ छक्का प्रहार गरे। उनी १०७ रन हानेर आउट भएका छन्। यसअघि पूर्वकप्तान पारस खड्काले टी-ट्वान्टीमा सतक प्रहार गरेका थिए।
ज्ञानेन्द्रको सतकसँगै नेपालले टी-ट्वान्टीमा अहिलेसम्मकै बढी रन बनाएको छ। निर्धारित २० ओभरको नेपालले ३ विकेट गुमाएर २३६ रन बनाएको छ। नेपालका लागि पारस खड्काले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए। रोहितकुमार पौडेल ६ बलमा छ रन हानेर आउट भए। अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन हाने। उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। कप्तान ज्ञानेन्द्र आउट भएपछि ब्याटिङ गर्न आएका आरिफ शेखले ४ बलमा ४ रन जोडे।
भुटानको तोब्देन सिंगेले १ र कर्मा दोर्जीले २ विकेट लिए।  केहीबेरमा भुटानले जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित मिति : १९ मंसिर २०७६ बिहिबार ००:००  १० : ४३ बजे