८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

स्थानीय तहमा भष्ट्रचार बढ्यो, दबाबमा कर्मचारीले काम नगर्नुः पूर्वमन्त्री गुप्ता



मायादेवी अनलाइन, तौलिहवा । 

प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्ताले स्थानीय तहमा भ्रष्टाचार बढेकोले कर्मचारीलाई दबावमा काम नगर्न सुझाव दिनुभएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुले आयोजना गरेको गतवर्षको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै संघीय साँसद गुप्ताले यस्तो कुरा बताउनुभएको हो । पछिल्लो समय पालिकाहरुमा भ्रष्टाचार बढ्दै गएको प्रति चिन्ता प्रकट गर्दै उहाँले प्रशासनीक निकाय सरकारको स्थायी संयन्त्र भएकाले कर्मचारीलाई नियमसंगत काम गर्न आग्रह गर्नुभएको हो ।

समिक्षा कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका साँसद गुप्ताले नगरपालिका र गाउँपालिका राम्रो बनाउन जनप्रतिनिधी अनुशासित बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले पालिकालाई सफल बनाउनु दायित्व जनप्रतिनिधीको भएको बताउदै यसका लागि अनुशासित पहिलो शर्त भएको स्पष्ट पार्नुभयो । उहाँले जिम्मेवार पदमा बसेर त्यसको सही तरिकाले पालना गर्न नसके राष्ट्र र समाज समृद्ध बन्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय सरकारले विकासको काममा ढिलासुस्ती र गम्भिरता नदेखाउदा बजेट फ्रिज गर्ने जस्ता कार्य गर्न नहुने बताइएको थियो । कार्यक्रममा प्रदेश साँसद धर्म बहादुरलाल श्रीवास्तव, रिना नेपाल लगाएतले स्थानीय सरकारले आफुहरुसंग समन्वय र सहकार्य गर्न नसक्दा कपिलवस्तुको विकास पछि परेको बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारीले गत आ.ब.कोबार्षिक समिक्षा ५ महिना पछि गर्नुको कुनै औचित्य नभएको बताउदै आगामी वर्ष समयमै गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा १० वटै स्थानीय तहले प्रगति विवरण प्रस्तुत गरेका थिए भने जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुले कार्यालयको गतवर्षको प्रगति विवरण सुनाएका थिए ।

कार्यक्रम जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनालको अध्यक्षता तथा भुमिराज पोख्रलले संचालन गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६ बिहिबार ००:००  ८ : ३५ बजे