७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

स्वरसम्राट नारायणगोपालको २९ औँ स्मृति दिवस आज, सम्झनामा विशेष कार्यक्रम हुँदै



काठमाडौँ ।

स्वरसम्राट नायरायणगोपाल गुर्वाचार्यको २९ औँ स्मृति दिवस बिहीबार विविध कार्यक्रम गरी मनाईँदै छ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायणगोपालको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।

वि सं १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३५ भन्दा धेरै गीत गाएका छन् ।

उनले आधुनिकसँगै डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाएका छन् । उनले गाएको ‘म त लाली गुराँस भएछु’, ‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’ लगायतका गीत अहिले पनि उत्ति नै रुचाइएका छन् ।

नारायणगोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट स्मृति सम्मानबाट यो वर्ष गायक, संगीतकार तथा गीतकार जगतमर्दन थापा र संगीतकार रञ्जीत गजमेरलाई सम्मानित गर्दैछ।

बिहीबार नारायणगोपालकै घरमा आयोजना हुने स्मृति दिवसको कार्यक्रममा दुई स्रष्ठालाई ताम्रपत्रसहित नगद २५ हजार प्रदान गरिने छ ।
विसं २०४९ सालदेखि दिन थालिएको पुरस्कारबाट पहिलो पटक लोक गायक झलकमान गन्धर्व सम्मानित भएका थिए ।

नारायणगोपालको सम्झनामा नारायणगोपाल संगीत कोषले उनकै निवास महाराजगञ्जको मिलिजुली टोलमा विशेष कार्यक्रम गर्दैछ । यस्तै सांस्कृतिक संस्थानले पनि विशेष कार्यक्रम गर्दैछ ।

प्रकाशित मिति : १९ मंसिर २०७६ बिहिबार ००:००  ८ : १२ बजे