७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

‘स्वर्ण जितें, अब विदेश जान्न’



काठमाण्डौँ ।

स्वर्ण सधैं विशेष नै हुन्छ, अझ त्यसमाथि स्वर्णसँगै इतिहास पनि रच्न पाउनु । भयो, त्यसको बयानै गर्नु परेन ।’
तेक्वान्दोका सक्षम कार्कीले बुधबार ग्यरोगीतर्फ स्वर्ण जित्दै दक्षिण एसियाली खेलकुदमा नेपालको लागि स्वर्णको शतक पूरा गरे । अर्थात १ सयौं स्वर्ण जिते । नेपालमा जारि १३ औं दक्षिण एसियाली खेलकुदमा २९ औं स्वर्ण जितेका उनले फाइनलमा पाकिस्तानका वकर अली खानलाई सहजै पराजित गरेका थिए । पदक वितरण समारोहपछि टिम होटेलमा सक्षमसँग वार्तालापका दौरान उनले बोलेको पंक्ति थियो यो । अन्तर्वार्ताका क्रममा ‘स्वर्ण पदक त विशेष होला नि रु ‘ भन्ने प्रश्न भुइमा खस्न नपाउँदै उनले दिएको उत्तर थियो यो ।

उनले अझ थपे, ‘ यो त अझ सयौं स्वर्ण । अब त म सबैलाई सयौं स्वर्ण जित्ने मै हो भनेर चिनाउन पाउने भएँ । चिनाउनु पनि नपर्ला कि, अब त आफैं पनि चिन्न सक्छन् ।’ यो भनिसक्दा सक्षमको अनुहार फेरी धपक्क बलिसकेको थियो । हँसिलो मुहार र मिजासिला स्वभावका सक्षमले स्वर्ण जित्ने धेरैले आशा राखेका थिए । अपेक्षाअनुसार उनले सहज रुपमा स्वर्ण जिते पनि ।

सक्षमले आफ्नो मिहिनेत र लगावले स्वर्ण जितेका थिए । उनको भाग्य नै भन्नुपर्छ, उक्त पदक नेपालको लागि १ सयौं पदक हुन पुग्यो । नेपाली खेलकुद इतिहासको पन्नामा स्वर्णसँगै नाम लेखाएका उनले सयौं स्वर्णको रुपमा अमिट छाप छोडेका छन् । सुरुवातमा यो तथ्य थाहा पाउँदा अचम्म लागेको बताउने सक्षमको मुहारमा त्यसपछि बेग्लै चमक देख्न सकिन्थ्यो । प्रतियोगिताको तेस्रो दिनसम्म प्रतिस्पर्धाको लागि कुर्नुपर्दा दवावमा रहेपनि पदक जित्ने उनमा आत्मविश्वास भने थियो ।

विगतमा चोटका कारण मुख्य प्रतियोगितामा सहभागिता जनाउन नपाएका सक्षम पटक पटक तेक्वान्दोबाट टाढिने मनस्थितिमा पुगिसकेका थिए । भर्खर २३ वर्ष पुगेपनि उनले ३ पटक शल्यक्रिया नै गराएका छन् । टिनएजर हुँदा नै सन् २०१४ को एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने अवसर पाएका उनले चोटका कारण खेल्न पाएनन् । सन् २०१६ को दक्षिण एसियाली खेलकुदमा सक्षम रजत पदकमा सिमित भए । गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा पनि घाइते भएपछि उनले खेल्न पाएनन् ।

मुख्य प्रतियोगिताको मुखैमा आएर चोट लाग्नु उनको लागि निकै कठिन रहयो । उनले खेल नै छाड्ने की भन्ने सम्म सोचिसकेका थिए । लगातार चोट र त्यसमाथि मार्सल आर्ट्सको खेल । घरबाट त उनलाई खेल छोड्न भनेर दवाव थिएन, तर पनि मनले मानेको थिएन । चोटको बेलामा पनि प्रशिक्षक दीपक विष्टले उनीमाथि राखेको विश्वासले सक्षमलाई प्रेरणा दियो ।

‘ म चोट लागेर घर बस्दा पनि दीपक गुरुले बेला बेलामा फोन गर्नु हुन्थ्यो । अवस्था के कस्तो छ भनेर सोध्नु हुन्थ्यो । एक पटक मात्र होइन, मेरो तीन पटक त शल्यक्रिया नै भएको छ । सानो चोट होस् या ठूलो, गुरुले मेरो लागि निकै समय खर्चनु भएको छ । वहाँले आफ्नो खेलाडी हुँदाको अवस्था सुनाएर पनि मलाई फर्कन प्रेरित गर्नुभयो,’ उनले सुनाए ।

‘म एक सामान्य खेलाडीको लागि गुरुहरुले यस्तो समय दिनुहुन्छ । दीपक गुरु मात्र होइन अन्य गुरुहरुले पनि हाम्रो प्रशिक्षणमा निकै समय खर्चनुभएको छ । यो विश्वासलाई मैले नतिजा दिएर नै न्याय दिन सक्छु भन्ने लाग्यो । घरबाट पनि मलाई सधैं सहयोग नै भएको छ । सफल खेलाडी बन्न परिवारको साथ अति नै आवश्यक छ । मैले आफ्नो परिवारबाट सधैं साथ पाएँ,’ सक्षमले थपे ।

बुधबार प्रतियोगिताको खेल हेर्न सक्षमको परिवार नै तेक्वान्दो हल पुगेको थियो । पदक जितेपछिको माहोल बताउन आग्रह गर्दा उनी केहि अक्मक्किए, ‘ विहानै बाबा(ममी हलमा आउनुभएको थाहा थियो । मैले खेल भएकोले बोल्न भने पाएको थिईंन । जब पदक जितेर बाहिर निस्किएँ, परबाट बाबा आउँदै हुनु हुन्थ्यो । नजिक गएर बाबालाई हेरें । बाबाले ‘ल बधाई छ१’ भनेर अंगालो हाल्नुभयो । अनि ममी पनि आएर पछाडीबाट अंगालोमा जोडिनुभयो । त्यो क्षण सम्झंदा अहिले पनि अर्कै महसुस हुन्छ । अझै पनि खुसी लागिरेहेको छ । ‘

सक्षमले आफ्नो भविष्य तेक्वान्दोकै वरपर देखेका छन् । उमेर र स्वास्थ्यले साथ दिएसम्म खेलाडीका रुपमा खेल्ने उनले त्यसपछि प्रशिक्षकका रुपमा अगाडि बढ्ने योजना बुनेका छन् । ‘ मैले जानेको तेक्वान्दो हो । यसलाई नै आउने दिनमा अगाडी बढाएर लाग्ने योजना छ । अझ धेरै खेल्ने उमेर नै छ । यो पदक त केवल सुरुवात मात्र हो भन्ने लिएको छु,’ उनले थपे, ‘ मेरो लक्ष्य एसियाली खेलकुद खेल्नु थियो, जुन चोटका कारण सम्भव भएन । सागको स्वर्ण जित्नुलाई मैले मुख्य लक्ष्य बनाएको थिएँ, जुन आज हासिल गरेको छु । अबको लक्ष्य एसियाली खेलकुद खेल्नु हो ।’

यति भन्ने बितिकै उनले खेलकुदमा लागेर नै जीवन गुजारा चलाउन नेपालको वर्तमान अवस्थामा कठिन रहेको भने स्वीकारे । सागको पूर्वसन्ध्यामा एथलेटिक्सकी तुलसा खत्री विदेशिनु परेको कटु सत्यलाई उनले सम्झिए । ‘साग सुरु हुनुअघि जस्तो लाग्छ । हामीले प्रशिक्षण सकिएपछि केहि समयका लागि मोबाइल पाएका थियौं । एथलेटिक्सको एकजना खेलाडी प्रशिक्षण नै छोडेर विदेश जानुभएछ । त्यो थाहा पाउँदा एकदम नराम्रो लाग्यो । वहाँले आफ्नो परिस्थिति कै कारण त्यस्तो कठिन निर्णय लिनुभयो होला । वहाँले यहाँसम्म आएको मिहिनेत यसै त पक्कै छोड्नुभएन,’ उनले थपे ।

‘नेपालबाट विदेश खेल्न जाने बेलामा पनि कति खेलाडी लुकेको खबर आउँछ । कोहि पनि रहरले त्यहाँ लुक्दैन । सबैको आ(आफ्नो बाध्यता हुन्छ । गलत हो भन्ने थाहा हुँदाहुँदै पनि खेलाडी पलायन हुनुको विकल्प देख्दैनन् ।’

स्वर्ण पदकले २३ वर्ष सक्षमको जीवनमा थुप्रै परिवर्तन आउला नआउला, त्यो पछिको कुरा । स्वर्णको असली वजन थाहा पाउन समय लाग्ने बारे उनलाई थाहा छ । अहिले भने उनी कम्तिमा पनि यसमा खुसी छन् की अब उनले स्वदेशमै बस्ने एउटा कारण पाएका छन् । ‘ आशा गरौँ अब फेरी मैले विदेश जाने बारे सोच्न पनि नपरोस् । मलाई कहिल्यै नेपाल छोडेर कतै जाउँ जस्तो लागेको छैन । म जहाँ छु त्यो मेरो घर परिवार र तेक्वान्दो परिवारको कारण छु,’ उनले थपे, ‘ मेरो परिचय, मेरो वर्तमान र मेरो भविष्य सबै यहिं छ । मलाई विदेश जाने सल्लाह पनि मेरो राम्रो सोचेर नै आएको हो । तर अब मैले नेपालमै बस्ने कारण पाएको छु । यो पदकले मेरो भविष्य मोड्नेछ ।’

नेपालको वर्तमान अवस्थामा राज्यबाट आफूले पाएको सहयोग र साथबाट सक्षम खुसी छन् । उनले खेलाडीको लागि रोजगारी सुनिश्चितता हुने हो भने पनि धेरै राम्रो नतिजा आउने बताउँछन् । ‘ राज्यले जे जति गरेको छ, नेपालको अवस्था हेर्दा त्यो ठिक छ । म आफैं अहिले विभागीय टोली आर्मीमा आबद्ध छु । सायद आर्मीको साथ नहुँदो हो त म कहाँ हुन्थें मलाई थाहा छैन । हरेक खेलको अवस्था त्यहि छ,’ उनले भने ।

‘ विभागबाहिर पनि प्रतिभावान खेलाडी छन् । उनीहरुको पनि हामीजस्तै क्षमता भएका छन्। तर खेलमा लागिरहने वातावरण छैन । निरन्तर प्रशिक्षण गर्न सबैको पारिवारिक अवस्थाले साथ नदिन सक्छ । दैनिक जीवनयापनकै लागि भएपनि खेलाडीलाई रोजगारी सुनिश्चितता गर्नुपर्छ । कम्तिमा खेलमा लागिरहन आधार त दिनुपर्छ,’ सक्षमले थपे ।

उनले आफ्नो अवस्थालाई उदाहरण दिंदै वर्तमान अवस्थाको चित्रण गरे । ‘ मेरो लागि परिवारबाट पूर्ण साथ छ । मलाई खेलमा लाग्न कुनै कठिनाइ छैन । हिजोको दिनसम्म म सामान्य खेलाडी थिएँ । मैले यो सफलता हासिल नगरेको भए कहिलेसम्म तेक्वान्दोमा निरन्तरता दिन्थें थाहा छैन । मेरो उमेरको अन्य साथी अधिकांश विदेशमा छन् । मलाई पनि कहिले त जाउँ कि क्या हो भन्ने नि भयो । मेरो दिदी पनि विदेशमा हुनुहुन्छ, सामान्य सल्लाह हुँदा नेपालमा खासै केहि छैन जस्तो पनि लाग्थ्यो,’ उनले भने ।

‘ अब मैले स्वर्ण जितेपछि म नेपालमै बस्छु भन्नेमा प्रष्ट छु । मेरो परिवारले यसलाई कसरि हेरेको छ थाहा छैन । बाबा(ममीले कहिले पनि कुनै दवाव दिनुभएको छैन । दिदीले भने भविष्यबारे सोच भनेर भन्नु हुन्थ्यो । अब मेरो लागि भविष्य नेपालमै छ,’ उनले थपे, ‘अब एसियाली च्याम्पियनसिपमा हाम्रो वरीयतामा पनि फरक पर्छ । त्यसमा विशेष ध्यान दिनेछु । त्यसपछि लक्ष्य एसियाली खेलकुद खेल्ने हो । दुई पटक खेल्न नपाएको पिडा बिर्साउनु नै छ ।’

१३ औं सागमा स्वर्ण जितेपछि हाम्रोखेलकुद डट कमका सुबास हुमागाईंसँग गरेको कुराकानीमा आधारित
हाम्रो खेलकुदबाट साभार

प्रकाशित मिति : १९ मंसिर २०७६ बिहिबार ००:००  ७ : २९ बजे