७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

पाकिस्तानमा महंगाई नियन्त्रण बाहिर, एक केजी टमाटरको मुल्य ३ सय



एजेन्सी ।
पाकिस्तानमा पछिल्लो समय महंगाई अत्याधिक बढेको छ । दैनिक उपभोग्य वस्तुहरुमा महंगाई ३ सय प्रतिशतसम्म बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमले जनाएअनुसार पाकिस्तानमा पछिल्लो साता एक केजी टमाटरको मुल्य ३०० सय रुपयेभन्दा माथि पुगेको छ ।
पाकिस्तानको सरकारी तथ्यांकलाई उल्लेख गर्दै सञ्चार माध्यमले जनाएअनुसार दैनिक उपभोग्य वस्तुमध्ये ४३ प्रकारका सामानको मुल्यमा ३ सय प्रतिशतसम्म बढोत्तरी भएको छ । जनाइएअनुसार दैनिक प्रयोग हुने टमाटरको मुल्य प्रतिकेजी ३ सयभन्दा माथि पुगेको छ । अदुवाको मुल्यमा भारी बृद्धि हुँदै प्रतिकेजी ५ सय पाकिस्तानी रुपये पुगेको छ । अहिलेसम्म टमाटरको मुल्य २ सयभन्दा माथि नपुगेको तर एकै पटक अहिलेसम्मकै रेकर्ड तोड्दै ३ सयभन्दा माथि पुगेको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
तरकारीको मुल्यमा भएको भारी बृद्धिसँगै फलफूलको मुल्यमा पनि ह्वात्तै बढोत्तरी आएको छ । जनाइएअनुसार सबैजसो फलफूलको मुल्य १ सय ५० भन्दा माथि पुगेको छ ।
यस्तै, तरकारी तथा फलफूलमा भारी मात्रामा बृद्धि भएसँगै मांसजन्य खाद्यपदार्थमा पनि भारी बृद्धि भएको छ । पाकिस्तानमा बाख्राको मासु प्रतिकेजी ९ सय पाकिस्तानी मुल्यभन्दा माथि पुगेको छ ।

भारतको कारण महंगाई बढ्योः पाकिस्तानी आर्थिक मामिला मन्त्री

दैनिक उपभोग्य वस्तुको मुल्यमा भएको अत्याधिक महंगाईको जिम्मेवार छिमेकी मुलुक भारत भएको पाकिस्तानी आर्थिक मामिला मन्त्री हमाद अजहरले बताएका छन् । अजहरले सञ्चार माध्यमसँग कुराकानी गर्दै भारततर्फबाट आउने कतिपय खाद्यवस्तु आउन रोकिएसँगै मुल्यबृद्धि बढेको बताए । उनले भारतसँगको असमान व्यापार सम्झौता खारेज गरेसँगै आन्तरिक व्यवस्थापनमा मुश्किल परिरहेको पनि खुलाएका छन् ।
मन्त्री अजहरले कतिपय विदेशी विचौलियाको कारण पनि बजारमा मुल्यबृद्धि नियन्त्रण बाहिर बन्दै गएको बताए । उनले आगामी जनवरी–फरबरीदेखि महंगाईमा सन्तुलन आउने पनि बताएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६ बुधबार ००:००  ६ : ४३ बजे