७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

११ औँ कपिलवस्तु महोत्सवः ‘नेपाल भ्रमण वर्ष २०२०’ को लोगोमा सेल्फी खिच्न पाइने



मायादेवी अनलाइन, वाणगंगा ।
बुद्ध रंगशाला बाणगंगा ४ जितपुरमा हुने ११ औँ कपिलवस्तु महोत्सवको तयारी ९५ प्रतिशत सकिएको छ । आयोजक बाणगंगा स्पोर्टट्स एण्ड वेलफेयर सोसाइटीले महोत्सव सुरु हुनुभन्दा एक दिन अगाडी बुधबार विहान पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीबारे जानकारी गराउँदै केही प्राविधिक काम बाहेक अरु सबै सम्पन्न भएको जनाएको हो ।
प्रवेशद्धारदेखि सांस्कृतिक कार्यक्रम हुने स्थान स्टेजसम्मका आधारभूत सबै काम भइसकेको वेलफेयरका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले जानकारी दिनुभयो । स्टल निर्माण, पार्किङ, टिकट घर लगायतका काम सकिएको छ भने सचिवालय र मूलगेट सजावट लगायतको केही काम बाकी रहेको खाँणको भनाई छ । बुधबार रातभर बाँकी सबै कामहरु पनि सकिने संयोजक खाँणले बताउनु भयो ।
महोत्सवको विहीबार पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले उद्घाटन गर्नु हुने छ । दिउँसो १ बजे हुने उद्घाटनमा यस क्षेत्रका पूर्व मन्त्रीहरु, संघीय तथा प्रदेश सांसद जनप्रतिनिधि लगायतको सहभागिता रहने खाँणले जानकारी गराउनु भयो । उद्घाटनको लागि पूर्व प्रधान मन्त्री आउने भएपछि सुरक्षा ब्यवस्था पनि कडा पारिएको आयोजकले बताएको छ ।
कार्यक्रम पूर्व बाजागाजासहित सांस्कृतिक झाँकी झल्कने खालका प्रस्तुतिसहित र्यालीको आयोजना गरिएको महोत्सवका निर्देशक तथा क्लवका महासचिव दिनेश क्षेत्रीले जानकारी दिनुभयो । विहान १० बजेपछि सुरु हुने र्यालीमा स्थानीय आमा समुह, भजन मण्डली, विद्यालयका द्यिार्थी, धार्मिक तथा सामाजिक संघ संस्थाहरु लगायतले बिभिन्न भेषभूषा झल्कने खालका प्रस्तुतिहरु पस्कने उहाँले मायादेवी अनलाइनसंग बताउनु भयो ।
यस्तै महोत्सवमा सुरक्षा ब्यवस्था पनि अत्यन्तै कडा हुने भएको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा संवेदनशिलतामा आयोजक सजग बनेको हो । सुरक्षाको लागि गेट बाहिर र भित्र नेपाल तथा शशष्त्र प्रहरी परिचालन हुने छन् भने सय भन्दा बढी संख्यामा सेक्यूरिटीको ब्यवस्था गरिएको छ ।
यस्तै मूल गेट बाहिरदेखि स्टेजसम्मको लागि बिभिन्न स्थानमा ४० भन्दा बढी सिसीटिभी क्यामेरा जडान गरिसकिएको आयोजकले जनाएका छन् । गत बर्षहरुम सवारी र हेलमेट चोरीका घटना धेरै हुने गरेको गुनासो आएकाले यसपाली पार्किङ स्थलमा पनि सिसीटिभी क्यामेरा जडान गरिएको हो ।
महोत्सवमा ज्येष्ठ तथा अपाङग अशक्तहरु नागरिकलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ । ज्येष्ठ नागरिकको परिचय पत्र भएका तथा ७० बर्ष नाघेका बुबाआमाले छुट्टै लाइनमार्फत् निशुल्क प्रवेश गरी मेलाको अवलोकन गर्न पाउनु हुने छ । यस्तै अपाङगता भएका व्यक्तिलाई पनि उनीहरुको अवस्थाअनुसार निशुल्क र विशेष छुटको ब्यवस्था गरिएको छ । ५० रुपैयाँ टिकट दर कायम गरिएको महोत्सवमा विद्यार्थीहरुको लागि २० प्रतिशतको दरले छुटको ब्यवस्था छ ।


हेलिकप्टर सफारी र उँट अवलोकनसहितका बिभिन्न नयाँ कार्यक्रम लिएर गर्न लागिएको यस महोत्सवमा छुट्टै सेल्फी जानेको पनि बयवस्था गरिएको छ । हेलीकप्टर सफारीमार्फत कपिलवस्तुका मुख्य धामहरु र पर्यटकीय स्थलको अवलोकन गर्न पाइने छ । नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनको लागि नेपाल भ्रमण बर्ष अंकित लोगोमा दर्शकले सेल्फी खिच्न पाउने सुविकोको पनि व्यवस्था गरिएको छन् । त्यसको लागि मूलगेट अगाडी भ्रमण वर्षको ठुलो कलात्मक लोगोसहितको ब्यानर राखिने छ ।
मेला भर्न आउने दर्शकले त्यहाँ सेल्फी खिचेर फ्रि वाइफाइको फाइदा लिँदै फोटाहरु सामाजिक संजालमा तुरुन्तै पोष्ट गर्न सक्ने छन् । नेपाल सरकारले भ्रमण बर्ष मनाइरहँदा त्यसलाई सफल बनाउन आफूहरुले भ्रमण वर्षको लोगोमा सेल्फी जोनको ब्यवस्था गरिएको आयोजकले जनाएका छन् । महोत्सव अवधिभर मेला स्थलमा फ्रि वाईफाईको मज्जा दर्शकले लिन सक्ने पनि निर्देशक बुद्धि क्षेत्रीले बताउनु भयो ।
यस्तै नयाँ हस्तकलासहितको पार्क, युवामैत्री तालिम सेमिनार, विद्यालय स्तरिय वक्तृत्वकला आदिले पनि महोत्सवमा छुटै रौनक थप्न सक्ने आयोजकको विश्वास छ । पत्रकार सम्मेलनमा बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्री, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल लगायतले बोल्दै महोत्सव सफलताको शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७६ बुधबार ००:००  ३ : ०६ बजे