७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

उपचुनावले पार्टीको शक्ति दुई तिहाइकै अवस्थामा देखाएको छः नेकपा



काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचन भएका ५२ वटै तहका परिणामको समीक्षा सहितको रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बुधबार केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बसेको सचिवालय बैठकले चुनावी रिपोर्ट पेश गर्न सबै क्षेत्रका सम्बन्धित निकायलाई निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

मंसिर २३ गते बस्ने सचिवालयको अर्को बैठकमा उपचुनाव सम्बन्धमा तल्ला कमिटीको रिपोर्टसहित समीक्षा हुने बताइएको छ । सचिवालय बैठकमा उपचुनावमा सामान्य समीक्षा भएको र विशेषतः धरान उपहानगरपालिका र भक्तपुरको प्रदेशसभाको पराजयबारे नेताहरुले चासो राखेको स्रोतले जनाएको छ ।

उपचुनावको समग्र परिणाममा आधाभन्दा बढीमा जित हासिल भए पनि केही ठाउँको पराजयको समीक्षा आवश्यक रहेको नेकपाले जनाएको छ । उपचुनाव भएका ५२ स्थानमध्ये प्रतिनिधिसभा र प्रदेशसभाका एक–एक सिटसहित नेकपाले ३० ठाउँमा जित हासिल गरेको छ ।

त्यस्तै नेकपाकै समर्थनमा बागलुङको प्रदेशसभामा राष्ट्रिय जनमोर्चाले जितेको तथा प्यूठानमा नेकपाकै स्थानीय कमिटीको समर्थनमा उठेका वडाध्यक्षले जितेको सहित ५२ मध्ये ३२ स्थानमा जीत भएको नेकपाले जनाएको छ । उपचुनावले पार्टीको शक्ति अहिले पनि दुई तिहाइकै अवस्थामा देखाए पनि धरान, भक्तपुर र भरतपुरको एक वडाको चुनावी परिणाम समीक्षाको विषय बनेको नेकपा नेताहरुले बताएका छन् ।

अध्यक्ष प्रचण्डले बुधवारको बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनाको प्रस्ताव राखेका थिए । बैठकले प्रधानमन्त्रीलाई सुस्वास्थ्यको कामना गरेको छ । बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा अध्यक्ष प्रचण्डले सामान्य जानकारी गराएका थिए ।

बैठकअघि मंगलवार अध्यक्ष प्रचण्डले सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग परामर्श गरेका थिए । बुधवारको बैठकमा अन्य एजेण्डामा छलफल नगर्ने जानकारी प्रचण्डले गराएका थिए । पोखरेल बिभिन्न कार्यक्रममा भाग लिन बुधवार इलाम पुगेकाले बैठकमा सहभागी भएनन् ।

मंसिर २१ गते बस्ने बैठकले चुनावी समिक्षा गर्नुको साथै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने सम्भावना छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६ बुधबार ००:००  १२ : ५१ बजे