दीपा महत, वाणगंगा ।
कपिलवस्तुकै पुरानो तथा सर्वाधिक चर्चित महोत्सव ११ औं कपिलवस्तु महोत्सवको अन्तिम तयारीमा आयोजक जुटेको छ । यहि मंसिर १९ गतेबाट संचालन हुन लागेको महोत्सवको ९० प्रतिशत काम सम्पन्न भएको आयोजक वाणगंगा वेलफेयर सोसाईटीले जनाएको छ । विगतका वर्षमा पनि महोत्सव सञ्चालन गरिसकेको वेलफेयरले अहिले पाँचौ पटक महोत्सव सञ्चालन गर्न लागेको हो । यस अघि आफुले आयोजना गरेको महोत्सव सफल भएको भन्दै यस वर्षको महोत्सवलाई थप पृथक बनाउने महोत्सवका निर्देशक दिनेश क्षेत्रीले बताउनुभयो । मायादेवी अनलाइनसंग कुराकानी गर्दै निर्देशक क्षेत्रीले यस वर्षको महोत्सवलाई थप ब्यवस्थित गराउँदै दर्शकले पनि महसुस गर्ने प्रकारले काम गरेको दाबी गर्नुभयो । उहाँले विगतका अनुभवलाई बटुल्दै यस वर्ष महोत्सवमा दर्शकले नयाँनयाँ कुराको अवलोकन गर्न पाउने दाबी गर्नुभयो ।
यस भन्दा अघि १० औं पटक सम्म सम्पन्न भएको कपिलवस्तु महोत्सवलाई यस वर्ष फरक बनाउन आयोजक तातेको छ । कपिलवस्तु डान्स आईडल देखि लिएर सुरक्षा ब्यवस्थालाई चुस्त दुरुस्त पार्नको लागि आफुहरु लागि परेको वाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष तथा महोत्सव संयोजक राजकुमार खाँणले बताउनुभयो । महोत्सवमा आउने दर्शकले भरपुर मनोरञ्जन लिने दाबी गर्नुभयो ।
यस्तै महोत्सवका निर्देशक दिनेश क्षेत्रीले यस वर्ष महोत्सवमा दर्शकले ‘हेलिकप्टर’ को पनि अवलोकन गर्न पाउने भन्दै त्यसको लागि तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाले जिल्ला प्रशासन कार्यालयसंग स्विकृती लिएर सम्झौता गरे पछि मसिंर २६ गते देखी २९ गते सम्म उडान गराउने र दर्शकले अवलोकन गर्ने बताउनुभयो ।
महोत्सवमा यस वर्ष मुख्य आकर्षणका रुपमा काठमाण्डौंमा अवस्थित हिन्दुहरुको प्रसिद्ध मन्दिर पशुपतिनाथको मन्दिरको ढाँचामा सचिवालय निर्माण गरिएको छ । यसका साथै मायादेवी मन्दिरको ढाँचामा प्रवेश मूलगेट निर्माण गरिएको छ । महोत्सवमा आउने दर्शकका लागि म्यूजियममा विभिन्न किसिमका ‘डमी’ निर्माण गरी सेल्फी खिच्ने ब्यवस्था गरिएको छ । यसका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि जिल्लाका ऐतिहासिक स्थलको फोटो प्रर्दशन गरिने छ ।
११ औं कपिलवस्तु महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषिको प्रर्दशनी र कृषकले अवलोकन गर्न पाउने छन् । जिल्लामा उत्पादित कृषिजन्य सामग्री महोत्सवमा प्रर्दशन गरिने छ । महोत्सवमा कृषकले स्टलको अवोकनका साथै कृषकलाई कृषि सम्बन्धी विभिन्न प्रकारको जानकारी दिइने महोत्सवका स्टल संयोजक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले दर्शकहरुले महोत्सवमा आई मनोरन्जनका साथै कृषि सम्बन्धी जानकारी लिन चाहानेको लागि कृषिसंग सम्बन्धित विभिन्न कुराको जानकारी गराईने बताउनुभयो । त्यसका लागि वाणगंगा नगरपालिका कृषि शाखा संग पनि सहकार्य गरेको उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा हुन सक्ने सम्भावित झै–झगडालाई लिएर सुरक्षा ब्यवस्था कडा पारिने छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, जिल्ला प्रहरी कार्यलय संग आवश्यक समन्वय भैरहेको महोत्सवका निर्देशक क्षेत्रीले बताउनुभयो । महोत्सवमा शसस्त्र प्रहरी, जनपथ, सयांैको संख्यामा स्वयमसेवक खटिने र स्टल भित्रको लागि सेक्यूरिटीको पनि ब्यवस्था गरिएको क्षेत्रीले बताउनुभयो । शान्ती सुरक्षालाई ख्याल गर्दै दिउँसो ३ बजे देखि साढे ३ बजेबाट राष्ट्रिय कलाकारको प्रस्तुती सुरु हुने र साँझ साढे ६ बजे सम्म सांस्कृतिक कार्यक्रम सक्ने निर्देशक क्षेत्रीले बताउनुभयो ।
यता महोत्सवकै आकर्षण मानिएको कपिलवस्तु डान्स आईडललाई पनि निष्पक्ष बनाउने आयोजकको दाबी छ । विगतका वर्षमा सम्पन्न भएका आइडलहरु केहि विवादित बनेकाले यस वर्ष आइडललाई निष्पक्ष बनाउने निर्देशक क्षेत्रीले बताउनुभयो ।
यसका साथै मूलगेटमा जबरजस्ती दर्शकबाट टिकट खोस्ने प्रतिस्पर्धीको टिकट जफत सम्म हुने भन्दै यस प्रकारको कार्य नगर्न निर्देशक क्षेत्रीले सबै प्रतिस्पर्धीमा आग्रह गर्नुभएको छ । यस वर्षको महोत्सवमा १ लाख दर्शक भित्राउदै १ करोडको आर्थिक कारोवार गर्ने अपेक्षा रहेको भन्दै महोत्सवलाई सफल पार्न सम्पूर्णमा आग्रह गर्नुभएको छ ।
महोत्सवको पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले यहि मसिंर १९ गते उद्घाटन गर्नुहुने छ । ‘युवा क्षमतामा अभिवृद्धी कृषि र पर्यटनमा समृद्धी’ भन्ने मूल नाराका साथ सञ्चालन गर्न लागिएको महोत्सव पौष १ गते सकिने छ ।
प्रतिक्रिया