मायादेवी अनलाइन, वाणगंगा ।
आंगिक प्रकृयाबाट कपिलवस्तु बाणगंगास्थित बुङ्चीको सिद्धार्थ क्याम्पस फिर्ता भएको छ । गत बर्ष क्याम्पस संचालक समितिको निर्णयबाट नवौँ क्याम्पस सभाले मध्य पश्चिमाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पस बनाउने प्रस्ताव अनुमोदन गरे पनि अहिले आएर भने क्याम्पस सभाले त्यसबाट फिर्ता हुने जनाएको छ । क्याम्पसको दशौँ क्याम्पस सभामा क्याम्पस प्रमुख खेमराज शर्माले सो कुराको जानकारी दिनुभएको छ ।
नवौँ क्याम्पस सभाले आंगिक बन्ने निर्णय गरेपछि विश्व विद्यालयको विश्वविद्यालय सभाको सिनेटको वैठकले पनि सिद्धार्थलाई आंगिक क्याम्पसको रुपमा विकास गर्ने निर्णय गरे पनि एक बर्षसम्म निर्णय कार्यान्वयनमा तादरुकता नदिएपछि आंगिक प्रकृयाबाट पछि हटेको शर्माले प्रष्टाउनु भयो । मध्य पश्चिमाञ्चल विश्व विद्यालयले यो प्रकृयामा ढिलाई गर्दा प्रदेश सरकारको सहयोगबाट समेत बंचित हुनु परेको उहाँको भनाई छ ।
आंगिक प्रकृयामा रहँदा पनि मध्यपश्चिम विश्व विद्यालयले कुनै सहयोग नगरेको र यता प्रदेश सरकारले पनि आंगिक क्याम्पसको ब्यवहार गरेपछि दुवै तर्फबाट क्याम्पसले कुनै सहयोग नपाएको क्याम्पस सभामा क्याम्पस प्रमुख शर्माले प्रस्तुत गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार क्याम्पसले अव त्रिभुवन विश्व विद्यालयकै मातहतमा सामुदायिक क्याम्पसकै रुपमा रहेर आफ्ना गतिविधि संचालन गर्ने जनाइएको छ । क्यूएए प्रकृयामा रहेको जिल्लाको एक मात्र क्याम्पसको रुपमा रहेको यस क्याम्पसमा टियूकै गतिविधि हुने भएकाले द्धिविधामा नरहने क्याम्पस संचालक समितिका अध्यक्ष झविलाल पोख्रेलले आग्रह गर्नुभएको छ ।
दशौँ सभाको अध्यक्षता गर्दै उहाँले अब क्याम्पस छिटै क्यूएए मान्यता प्राप्त गर्ने अन्तिम चरणमा रहेकाले पौष महिनामा विश्व विद्यालय अनुदान आयोगको टोलीले अन्तिम भिजिट गर्ने बताउनु भयो । क्यूएए प्रकृयाका लागि गर्नु पर्ने सबै काममा क्याम्पस तयार रहेकाले विश्व विद्यालय टोलीलाई पौषमा आमन्त्रण गरिएको पनि उहाँले क्याम्पस सभामार्फत जानकारी गराउनु भएको छ ।
सरोकारवाला भन्छन्, सिद्धार्थ क्याम्पस जिल्लाको धरोहर हो
दशौँ क्याम्पस सभामा बोल्ने वक्ताहरुले सिद्धार्थ कयाम्पस जिल्लाकै धरोहर रहेको बताएका छन् । प्रमुख अतिथि पूर्व मन्त्री दीप कुमार उपाध्यायले जिल्लाको शैक्षिक गतिविधिमा क्याम्पस निकै अगाडी रहेको बताउनु भयो । उहाँले मध्यपश्चिमाञ्चल विश्व विद्यालयको आंगिक प्रकृयाबाट ब्याक भएपछि अब यसलाई प्रदेशले सहयोग गर्नु बताउनु भयो ।
संविधान सभा सदस्यद्धय बालाराम अधिकारी र डोर प्रसाद उपाध्यायले क्याम्पसका नतिजा र गतिविधि राम्रो भएको बताउनु भयो । क्याम्पस संचालन गर्न कठिनाई भए पनि आगामी दिनमा आफूहरुले सहयोग गर्ने उहाको भनाई छ । प्रदेश सांसद विष्णु पन्थीले क्याम्पसको गुणस्तरियता जिल्लामा राम्रो भएको बताउँदै अब प्रदेश र संघसंग प्रतिस्पर्धा गर्न क्याम्पस लाग्नु पर्ने बताउनु भयो । क्याम्पस द्धिविधामा रहेका कारण प्रदेश बाट सहयोग गर्न नसकिएको अब पूर्ण सहयोग गर्ने आश्वसान उहाँले दिनुभयो ।
क्याम्पस सभामा आन्तरिक लेखा समितिका संयोजक तथा सोमनाथ अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसैबीच क्याम्पसले अब छिटै बिबिए र बिबिएम, कृषि विज्ञान, बिएससी सीएसआइटी, बिसिए जस्ता नयाँ कार्यक्रम संचालन गर्ने लक्ष्य राखेको जनाइएको छ । क्याम्पस संचालक समितिका उपाध्यक्ष रवि बहादुर काफ्लेको स्वागतमा सम्पन्न क्याम्पस सभाको संचालन उप प्रध्यापक गोविन्द खनालले गर्नु भएको थियो ।
प्रतिक्रिया