७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

पाल्पा रामपुर प्राविधिक शिक्षा लिने थलो बन्दै



बेझाड (पाल्पा) ।
केही वर्ष अघिसम्म माध्यमिक शिक्षा हासिल गरिसकेका पाल्पा, रामपुरका विद्यार्थीलाई प्राविधिक शिक्षा कहाँ पढ्ने भन्ने चिन्ताले सताउँथ्यो । कमजोर आर्थिक हैसियतका कारण प्राविधिक विषय पढ्ने इच्छा भएर पनि उनीहरु खुम्चिएर बस्नुपथ्र्यो । समय फेरिएको छ, अब त्यो पिरलो छैन ।
पछिल्लो समय प्राविधिक धार अन्र्तगत विभिन्न विषयका कक्षा सञ्चालनमा आएपछि यहाँका मात्र नभै अन्यत्रका विद्यार्थीको पनि रामपुर अध्ययनको थलो भएको छ । सस्तो शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न पाइने भएपछि अहिले बाहिरबाट रामपुर पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दो छ । रामपुर नगरपालिकाभित्र चार वटा विद्यालयमा प्राविधिक शिक्षाको अध्यापन हुन्छ । सिटिइभिटी मार्फत रामतुलसी माविमा तीनवर्षे डिप्लोमा तहमा कृषि बाली विज्ञान, दरैठाँटी माविमा तीनवर्षे सिभिल इन्जिनियरिङ र गंगा माविमा तीनवर्षे पशुविज्ञानका कक्षा सञ्चालित छन् ।
आधारभूत माविमा भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट कक्षा ९ देखि १२ सम्म पशु विज्ञानको कक्षा सञ्चालन भइरहेको छ । यहाँ पढ्न आउने अधिकाँश विद्यार्थी बाहिरी जिल्लाका छन् । सस्तो शुल्कमा गुणस्तरीय शिक्षा पढ्न पाइने भएका कारण सिभिल इन्जिनीयरिङ अध्ययनका लागि हुम्लाबाट रामपुरको दरैठाँटी माविमा आएको सत्यदेवी शाहीले बताईन ।
सिन्धुलीका मनोज विक पनि रामपुरमै तीनवर्षे सिभिल इन्जिनीयरिङ पढ्न आउनुभएको छ । शाही, खड्का र विक प्रतिनिधि पात्र मात्रै हुन् । उनिहरू जस्ता अधिकाँश विद्यार्थी बाहिरी जिल्लाबाट रामपुर आई आफ्नो भविष्य बनाइरहेका छन् । सिभिल इन्जिनीयरिङमा दरैठाँटी मावि प्रदेश नम्बर ५ मै उत्कृष्ट नतीजा ल्याउन सफल विद्यालय पनि हो । विद्यालयले २०७२ सालमा महायज्ञ गरी २०७४ देखि सिभिल इन्जिनीयरिङको कक्षा शुरु गरेको हो । विद्यालयले न्यून शुल्कमा शिक्षा प्रदान गरिरहेकाले पनि आकर्षण बढ्दो छ । डिप्लोमा तह सञ्चालन भएको वर्ष २०७४ मा ३९, २०७५ मा ४४ र यो वर्ष ३७ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले जानकारी दिए । पढाइ सकेसँग रोजगार पाउन सक्ने भएकाले पछिल्लो समय यहाँ प्राविधिक शिक्षाप्रति विद्यार्थी आकर्षित भएको प्रअ देवकोटाको भनाइ छ । (रासस)

प्रकाशित मिति : १७ मंसिर २०७६ मंगलबार ००:००  ९ : ०४ बजे