१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

उप-निर्वाचनः कहिँ शान्त कहिँ अशान्त, चितवनमा सिसिटिभी क्यामेराको निगरानीमा मतदान



मायादेवी अनलाइन, कपिलवस्तु ।

उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि अहिले मतदान जारीे छ । उपनिर्वाचन हुने स्थानमो बिहान ७ बजेबाट उत्साहपूर्ण तवरले मतदान सुरु भएको हो । रिक्त प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थानमा मतदान हुन भएको हो । यो समाचार तयार पार्दासम्म कतिपय स्थानमा शान्तिपूर्ण बातावरणमा मतदान भइरहेको छ भने कतिपय स्थानमा वम विसफोट लगायतका घटना भइरहेका छन् ।

कपिलवस्तु

कपिलवस्तुको एउटा वडामा पनि उपनिर्वाचन सुरु भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं. १० मा उपनिर्वाचन सात बजेबाट उप निर्वाचन सुरु भएको हो । आफ्नो उम्मेदवारलाई भोट खसाल्न मतदाताहरु उत्साहित भएर लाइनमा बसेको त्यहाँबाट हाम्रा सहकर्मीहरुले बताएका छन् । चुनावमा २ हजार ७२ जना मतदान गर्न पाउनेछन । जसमा ९ सय ४ जना शितलापुर र १ हजार १ सय ६८ जना लालपुर केन्द्रका मतदाता छन् ।

निर्वाचनलाई मध्यनगर गरी पश्चिमी क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । विशेष गरी निर्वाचन हुने लालपुर र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । कपिलवस्तु प्रहरीका प्रहरी उपरिक्षक दीप शमसेर जवराले निर्वाचनलाई मध्यनगर गरी सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो ।

सुरक्षा लागि नेपाल प्रहरी, शसस्त्र, अनुसन्धान र नेपाली सेना खटिएका छन् । उहाँका अनुसार आज नेपाल भारत सिमानाकामा कडाई गरिने बताउनुभयो । शनिबार अघिपछिको भन्दा सिमानाका कडा पारिएको छ ।

निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका अदालत मनियार, नेपाली कांग्रेसका देवराज भारती, समाजवादी पार्टी नेपालका तिरथ वहादुर रायमाझी, राजपावाट मन्जु मिश्र लगायत १२ जनाको उम्मेद्वारी रहेको छ । स्वतन्त्र रुपमा चुनाव जित्नुभएकी शकुन्तला भारतीको निधन भएका कारण उक्त वडामा अध्यक्ष पदको लागि निर्वाचन हुन लागेको हो ।

अर्घाखाँची

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा मतदान सुरु भएको छ । ३ हजार ११ मतदाता रहेको उक्त वडामा नेकपाका यमलाल खनाल र कांग्रेसका शोभाखर खनालबीच मुख्य प्रतिस्पर्धा हुदैछ ।तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि सोही वडामा अहिले उपनिर्वाचन भएको हो यी २ उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

दाङ
दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) र घोराही उपमहानगरपालिका–१६ को अध्यक्षका लागि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले दाङ क्षेत्र नंं ३ (ख) र घोराही उपमहानगरापलिका– १६ मा सौहार्दपूर्ण ढंगले मतदान भइरहेको बताए । मतदान गर्न वृद्धवृद्धाहरु लट्ठी टेकेरै लाइनमा लागेका छन् ।

तीन तहको घेरामा व्यवस्था गरिएको सुरक्षा व्यवस्थाका लागि दुई हजारभन्दा बढी सुरक्षाकर्मीहरु खटाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् । निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी जिल्लाको सुरक्षाकर्मीको साथै छिमेकी जिल्लाबाट पनि सुरक्षाकर्मीको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

प्यूठान
शनिवार विहानैदेखि प्यूठानका दुई स्थानीय तहको तीन वटा वडामा मतदान जारी छ । प्यूठान नगरपालिका वडा नम्वर २ दाखाक्वाडी, ऐरावती गाउँपालिका १ दाङवाङ र २ बरौलामा वडा अध्यक्षका पदका लागि मतदान भएको हो । विहान ६ बजेदेखि नै मतदाताहरु आफूले चाहेको जनप्रतिनिधी चुन्न भोट हाल्न लाइनमा बसेका छन् ।

चिसोका कारण कतिपय बृद्धबृद्धाहरुलाई आवतजावत गर्न समस्या परेको देखिएको छ । प्यूठान नगरपालिका वडा नम्वर २ दाखाक्वाडी जानकारी मावी मतदान केन्द्रबाट जेष्ठ नागरीक ९८ वर्षिय पूर्व गृह सहायक मन्त्री टंक बहादुर विष्टले समेत मतदान गरेका छन् । चिसोका कारण विहान मतदाताहरुको संख्यामा कमी देखिएपनि दिउँसोपख मतदाताको उपस्थिती बढ्ने देखिएको छ ।

जिल्लाका १२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस विष्णुप्रसाद गौतमले जानकारी दिए । प्यूठान नगरपालिका २ मा ३ हजार २१ जना, ऐरावती १ मा २ हजार पाँच सय ४५ र २ मा २ हजार ७ सय ८० जना मतदाता रहेको गौतमले बताए ।
ऐरावती १ मा २ हदार ५ सय ४५ र २ नम्वरमा २ हजार ७ सय ८० गरी कुल ५ हजार ३ सय २५ मतदाता रहेको निर्वाचन अधिकृत चन्द्रदेव भारतीले बताए । कुल मतदाताको बढीमा ७० प्रतिशत मत खस्ने आँकलन गरिएको छ ।

बागलुङ
शनिबार हुन लागेको उप निर्वाचन अन्तर्गत गण्डकी प्रदेशसभा सदस्य र वडा अध्यक्षका लागि बागलुङमा मतदान जारी छ । जिल्लामा बागलुङ क्षेत्र नम्बर (२ (ख) को प्रदेशसभा सदस्य र बडिगाड गाउँपालिका २ को वडाध्यक्षका लागि उप निर्वाचन हुँदैछ । मतदान बिहान ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृत खिमबहादुर बिकले बताए ।
मतदान साँझ ५ बजे सम्म जारी रहनेछ । प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि ४३ र वडाध्यक्षको उपनिर्वाचनका लागि दुईवटा मतदान केन्द्र तोकिएको छ । स्वयंसेवक समेत गरी कूल ४ सय ५ जना कर्मचारी उपनिर्वाचनमा परिचालित रहेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।
प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १० उम्मेदवार चुनावी मैदानमा छन्। सत्तारूढ नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काँग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट नीमबहादुर भण्डारी उम्मेदवार छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा छन् ।

चितवन

चितवन जिल्लामा भइरहेको उपनिर्वाचनको सिसी क्यामेराले निगरानी गरिराखेको छ । भरतपुर महानगरपालिका९१६ र खैरहनी नगरपालिकाको९ ४ र ५ मा अहिले उपनिर्वाचन भइराखेको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार वडाहरुको मतदानदेखि गणनास्थलसम्म सिसि क्यामराको निगरानी रहने छ । मतदान केन्द्र रहेका कतिपय विद्यालयमा यसअघि भएका सिसी क्यामेरा र नभएका ठाउमा आवश्यकतानुसार जडान गरिएको थियो । चितवनमा ३ वडा अध्यक्षको लागि हुन लागेको निर्वाचनमा १३ जनाको उम्मेदवारी छ । तीन वडा मध्ये खैरहनीका दुईवटै वडामा यस अघि नेपाली कांग्रेसले वडाअध्यक्षले जितेका थिए भने भरतपुर–१६ मा तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए ।

कास्की

कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ ।पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीय प्रत्यक्षदर्शी अर्जुन बस्नेतले बताए । मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट जोगिएको छ । बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ ।

महोत्तरी

महोत्तरीमा मतदान सुरु भइसकेको छ । तर हुस्सुका कारण मतदाताको उपस्थिति न्युन रहेको छ । २९ मतदान केन्द्रहरु मध्ये सवै केन्द्रबाट मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान भन्दा दुईदिन अगाडिमात्र नेकपा उम्मेदवार विक्रम चौधरीको पिपरा स्थित घरमा बम विस्फोट पछि पिपरा लगायतका विभिन्न स्थानको मतदान स्थलको सुरक्षा अत्यधिक बढाइएको छ ।

यस्तै काभ्रेमा काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर. २ मा उप निर्वाचनको मतदान सुरु भएको छ । धुलिखेल नगरपालिका वडा नं. २ रविओपीका वडा अध्यक्ष राजन कोईरालाको गत २०७४ भदौ ९ गते निधन भएपछि उपनिर्वाचन भएको हो ।

नेकपाबाट देवप्रसाद कोईराला र कांग्रेसबाट दर्णबहादुर खत्रीबीच मुख्य प्रतिस्पर्धा हुने छ । त्यसरी नै राजपा नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट बासुदेव थापाको उम्मेद्वारी छ ।

धरान

सुनसरीको धरान उपमहानगरपालिकामा अन्र्तगत मेयर तथा वडाध्यक्ष पदका लागि निर्वाचन सुरु भएको छ। बिहानैदेखि निर्वाचनमा सहभागता जनाउन मतदाताहरु केन्द्रमा पुगिरहेका छन्।

धरानमा मेयर र एक वडाध्यक्ष पदका लागि मतदान भइरहेको छ। उपमहानगरपालिकामा २० वटा अन्तर्गत २८ वटा मतदान केन्द्र रहेको छ। धरानको मेयर पदका लागि नेपाली कांग्रेसको तर्फबाट वडा नम्बर १८ का तिलक राई र सोही वडाबाट नेकपाका तर्फबाट प्रकाश राईबिच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ।

पाँचथर 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले उपनिर्वाचनमा पाँचथरको फिदिम नगरपालिका वडा नं १ मा आज बिहान मतदान गरेका छन् । रिक्त रहेको वडाध्यक्ष पदमा फिदिम–१ मा उपनिर्वाचन भएको हो । मन्त्री नेम्बाङले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गरेका हुन् । मतदानपूर्व उनले जिल्लामा मतदानको अवस्थाबारे जानकारी लिएका थिए ।  त्यसैगरी, तीन स्थानमा उपनिर्वाचन हुन लागेको पाँचथरमा शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिकाको प्रमुख, फिदिम नगरपालिका–१ को वडाध्यक्ष र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  १० : २४ बजे