१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

शिवराज १० उपनिर्वाचनः मतदान सुरु



माधव बेल्वासे, चन्द्रौटा । 

जिल्लाको शिवराज नगरपालिका १० लालपुरका मतदान केन्द्रमा मतदान सुरु भएको छ । वडाका दुईवटै मतदान केन्द्रमा विहान ७ बजेदेखि मतदान सुरु भएको हो । वडाका लालपुर र शितलापुर आधारभुत विद्यालयलाई मतदान स्थल तोकिएको छ भने तीन वटा मतदान केन्द्र निर्धारण गरिएको छ । सवै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भईरहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्य प्रसाद भण्डारीले जानकारी दिए ।

वडामा २ हजार ७२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । शितलापुरमा ९०४ र लालपुरमा ११६८ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

मतदान पश्चात दलहरुवीच दलीय सहमती भए आज बेलुकाबाटै मतगणना सुरु हुने निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए । मतगणना मुख्य निर्वाचन कार्यालय चन्द्रौटा परिसरमा गर्ने तयारी गरिएको उनले बताए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछि रिक्त रहेको पदमा अहिले उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा सिकेराउत समुहको जनमत पार्टी सहित १२ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन ।

वडा नं १० को अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहार, नेपाली कांग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मञ्जु मिश्र, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहार उम्मेदवार छन् ।

यस्तै स्वतन्त्र उम्मेदवारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहार चुनावी मैदानमा छन् ।

गत साउन १६ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यस निर्वाचनमा मतदान गर्न पाउनेछन् । मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  ९ : ११ बजे