१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तु लालपुरमा उप-निर्वाचनः सुरक्षा व्यवस्था कडा, मतदाता व्यग्र प्रतिक्षामा



मायादेवी अनलाइन, चन्द्रौटा । 

शनिबार कपिलवस्तुको एउटा वडामा उपनिर्वाचन हुँदै छ । जिल्लाको शिवराज नगरपालिका वडा नं. १० मा उपनिर्वाचन हुन लागेको हो । उप निर्वाचनको तयारी पुरा भएको निर्वाचन कार्यलय कपिलवस्तुले जनाएको छ ।

वडाका दुई स्थानलाई मतदानस्थल तोकिएको छ भने तीन वटा क्षेत्रमा मतदान केन्द्र राखिएको छ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार लालपुर र शितलापुर गरि दुई आधारभुत विद्यालयलाई मतदानस्थल तोकिएको छ भने मतदान केन्द्र भने तीन वटा निर्धारण गरिएको छ ।

चुनावमा २ हजार ७२ जना मतदान गर्न पाउनेछन । जसमा ९ सय ४ जना शितलापुर र १ हजार १ सय ६८ जना लालपुर केन्द्रका मतदाता छन् । निर्वाचन कार्यालयले खटाएका कर्मचारीहरुले निर्वाचनको अघिल्लो दिन शुक्रबार मतदाता परिचय पत्र लैजान बाँकि रहेका मतदातालाई परिचय पत्र वितरण गरेका थिए ।

उपनिर्वाचनका लागि ३ जना मतदान अधिकृत, ३ जना सहायक मतदान अधिकृत ६ जना सहायक कर्मचारी, ३ जना सहयोगी गरी १५ जना कर्मचारी खटाईएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्या प्रसाद भण्डारीले बताएका छन । मतदान बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म हुनेछ ।

सुरक्षा व्यवस्थामा कडाई

निर्वाचनलाई मध्यनगर गरी पश्चिमी क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । विशेष गरी निर्वाचन हुने लालपुर र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । कपिलवस्तु प्रहरीका प्रहरी उपरिक्षक दीप शमसेर जवराले निर्वाचनलाई मध्यनगर गरी सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो ।

मायादेवी अनलाइनसंग शुक्रबार साँझ कुराकानी गर्दै प्रहरी उपरिक्षक जवराले मतदातालाई ठुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ ।

सुरक्षा लागि नेपाल प्रहरी, शसस्त्र, अनुसन्धान र नेपाली सेना खटिएका छन् । निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पूरा भएको प्रहरी उपरिक्षक जवराले बताउनुभयो । साथै उहाँले शनिबार नेपाल भारत सिमानाकामा कडाई गरिने बताउनुभयो । शनिबार अघिपछिको भन्दा सिमानाका कडा हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १३ मंसिर २०७६ शुक्रबार ००:००  १० : ४९ बजे