रुकुम पुर्व ।
प्रदेश नं. ५ सरकारले किसानका लागि वितरण गरेको कृषि अनुदान रकममा सञ्चालन भएका योजनाको जिल्लामा नै पुगेर स्थलगत अनुगमन थालेको छ ।
कृषि क्षेत्रको विकास र किसानको जिवनस्तर माथि उकास्न प्रदेश सरकारले उपलब्ध गराएको कृषि अनुदान रकमको प्रभाव र यसको कार्यान्वयनको अवस्था बारे बुझ्न प्रदेश सरकार कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्रीसहितको उच्चस्तरीय टोलीले विभिन्न जिल्लाको अनुगमन गरेको हो ।
प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले प्रदेश सरकारले कृषि क्षेत्रमा किसानका लागि उपलब्ध गराएको अनुदान रकमको दुरुपयोग भएको भन्दै किटानसहित प्रतिवेदन बुझाएपछि मन्त्री पौडेलले आफ्नै नेतृत्वमा अनुगमन गर्न मन्त्रालयको टोली सहित विभिन्न जिल्ला पुग्नुभएको हो ।
यसैक्रममा कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री आरती पौडेलसहितको मन्त्रालयको टोलीले बुधबार र बिहीबार जिल्लाका दुई स्थानीय तह भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकामा कृषि अनुदानमा सञ्चालित योजना तथा कार्यक्रमको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कतीपय ठाउँमा सन्तोषजनक काम भएको र कतिपय ठाउँमा अपेक्षाअनुसारको काम हुन नसकेको मन्त्रालय टोलीको निष्कर्ष छ ।
यसै क्रममा महिला जनचेतना फलफूल कृषक समूहले भने राम्रो काम गर्न नसकेको अनुगमन टोलीले बताएको छ । टोलीका अनुसार उक्त समूहले अनुदानमा पाएको विभिन्न किसिमका सामग्री प्रयोजनमा नल्याएर थन्क्याएर राखेको पाइएको जनाइएको छ । त्यसैगरी बेमौसमी तरकारी, फलफूल तथा च्याउ उत्पादनका लागि बनाइएका टनेल पनि खाली छन् ।
सिँचाइको लागि पानी जम्मा गर्न वितरण गरिएका ड्रम घरमा राखिएको पाइएको छ । महाशाखा प्रमुख डा शर्माले महिला जनचेतना फलफूल कृषक समूहलाई २० गतेभित्रमा टनेलमा विभिन्न प्रकारका तरकारी बिउबिजन तथा च्याउ रोपिसक्नुपर्ने निर्देशन दिनुभएको छ । त्यसो हुन नसकेमा मन्त्रालयबाट एक हप्ताभित्रै अनुदान असुलउपर गर्न पत्र काटिनेसमेत उनले बताए ।
प्रतिक्रिया