१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

उपनिर्वाचनः दाङमा ७३ हजार मतदाता, दुई हजार सुरक्षाकर्मी परिचालन



दाङ ।
दाङमा भोलि (शनिबार) हुन लागेको उप–निर्वाचनमा ७३ हजार मतदाता छन् । दाङ निर्वाचन क्षेत्र नम्बर–३ (ख) प्रदेश सभासदस्य र घोराही उप–महानगरपालिका–१६ को वडा अध्यक्षका लागि भोलि निर्वाचन हुँदैछ ।
प्रदेश सभासदस्य उत्तरकुमार वली र वडा अध्यक्ष दक्षिमान बुढाको मृत्यु भएपछि हुन लागेको उप–निर्वाचनमा प्रदेशसभा सदस्यका लागि ६८ हजार ७ सय १९ जना मतदाता रहेका छन् । वडा नम्वर १६ मा ४ हजार ४ सय ५३ जना मतदाता छन् ।
मूख्य निर्वाचन कार्यालय दाङका अनुसार उप–निर्वाचनमा दाङमा कुल ७३ हजार १ सय ७२ जना मतदाता रहेका छन् । जसमध्ये महिला ३७ हजार ३ सय ५ जना र पुरुष ३५ हजार ८ सय ६६ जना जना रहेका छन् ।
त्यस्तै घोराही उप–महानगरपालिका वडा नम्वर १६ मा महिला २ हजार ३ सय ६५ र र पुरुष मतदाता २ हजार ८८ जना छन् ।
प्रदेश नम्बर–३ (ख) अन्तर्गत तुलसीपुर उप–महानगरपालिका वडा नम्बर १, २, १० र ११ मा महिला मतदाता ८ हजार १ सय ६५ र पुरुष मतदाता ७ हजार ९ सय ५ जना गरी जम्मा १६ हजार ७१ जना मतदाता छन् ।
दंगिशण गाँउपालिकामा ७ हजार ९ सय ८९ जना महिला मतदाता र ७ हजार ७ सय १५ जना पुरुष मतदाता गरी जम्मा १५ हजार ६ सय ९६ जना रहेका छन् । बबई गाँउपालिकामा ९ हजार २ सय ८३ महिला र ८ हजार ८ सय २० जना पुरुष गरी जम्मा १८ हजार १ सय ३ जना मतदाता रहेका छन् ।
जिल्लाका यी दुई क्षेत्रमा हुन लागेको उप–निर्वाचनमा ३४ वटा निर्वाचन स्थल छन् । शुक्रबार पश्चिम दाङको श्रीगाँउमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन क्षेत्र नम्बर ३ (ख) को ६ वटा निर्वाचन स्थल सुरक्षा अतिसंवेदनशील क्षेत्रमा राखिएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार साढे ४ सय कर्मचारी खटाइएका छन् । दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विगतका निर्वाचनमा भएका हिंसात्मक घटनाको समिक्षा गरिएको र त्यसको आधारमा जिल्लाको सुरक्षा हाई अलर्टमा राखिएको उनले बताए ।
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा अनुसन्धान प्रहरी सुरक्षाका लागि निर्वाचन क्षेत्रमा परिचालन गरिएको छ । स्थल मार्ग, मोबाइल गस्ती विशेष सूचकको परिचालन समेत गरिएको छ ।
१० मिनेटमा मतदान स्थलमा पुग्ने गरी छुट्टै मोबाइल र क्वीक रेस्पोन्स फोर्सको समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
सुरक्षाको अनुभूतिका साथ नागरिकलाई मतदान गर्ने वातावरण मिलाइएको स्थानीय प्रशासनले दाबी गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६ शुक्रबार ००:००  ७ : ३८ बजे