एजेन्सी ।
अमेरिकी गायिका म्याडोनाको कन्सर्ट रद्द भएका छन् । ‘म्याडम एक्स’ टूरको दौरान घाइते भएकी गायिका म्याडोनाको बोस्टनमा आयोजना हुने भनिएका कन्सर्टहरु रद्द गरिएका हुन् । अत्यधिक पीडाका कारण चिकित्सकको सल्लाहअनुसार उनको तीन कन्सर्टहरु रद्द गरिएको हो ।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा अत्यधिक पीडाका कारण कन्सर्ट रद्द हुने अप्रत्यासित भएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘कन्सर्टलाई लिएर यो अप्रत्यासित मोड सिर्जना भएकोमा माफ माग्छु । हरेक रात कन्सर्टको लागि तयारी गर्दा आनन्द महसुस गर्दछु र कन्सर्ट रद्द हुनु मेरो लागि सजाय हो । तर, अहिले मैले अत्याधिक पीडा महसुस गरिरहेको हुँदा डाक्टरको सुझावअनुसार आराम गर्नु आवश्यक रहेको छ । यसले मलाई निको भएर कन्सर्टमा फर्कन सहयोग गर्नेछ ।’ यसअघि उनले इन्स्टाग्राममा आइस बाथ गरिरहेको भिडियो पोस्ट गरेकी थिइन् ।
आगामी डिसेम्बर ७ देखि फिलाडेल्फियामा र मियामीमा कन्सर्टको विभिन्न स्थान र मिति तोकिएको थियो। नयाँ वर्षको सुरुवातमा भने लन्डन हुँदै पेरिसमा कन्सर्ट गरिने तयारी भएको थियो ।
यस हप्ता उनलाई संगीतकार क्यासी स्पोनरले गीत चोरीको आरोप लगाएका थिए । सो गीतको लागि संगीतकार क्यासीले ‘म्याडम एक्स’ टूरको कुल आन्दानीको एक प्रतिशत हिस्सा गायिका म्याडोनासँग मागेका छन् । यसप्रति म्याडोनाले कुनै प्रतिक्रिया दिएकी छैनन् । यसअघि अमेरिकी सञ्चार माध्यमले उनको ‘म्याडम एक्स’ टूर ढिला सुरु भएको कारण देखाउँदै फ्यानले मुद्दा हालेको कानुनी कागजात फेला परेका थिए ।
‘म्याडम एक्स’ टूरमा गायिका म्याडोना समयनिष्ठ नभएपछि कन्सर्ट निर्धारित समयभन्दा ढिला सुरु भएको आलोचना भइरहेको छ । उनको १४ औं स्टुडियो एल्बम ‘म्याडम एक्स’ ले बिलबोर्ड चार्ट्समा नम्बर १ स्थान कब्जा गरेको थियो । सन् २०१७ देखि लगातार पोर्चुगलको लिस्बनमा बस्न थालेकी उनले सो एल्बममा त्यहाँको अनुभूति समेटेकी थिइन् । पोर्चुगलको प्रभाव उनको ‘म्याडोना एक्स’ को संगीतमा परेको थियो । छोरा डेभिडसहित पोर्चुगल पुगेकी उनीले हालसम्म संगीतमा नम्बर १ स्थान कब्जा गर्न सफल भएकी छिन् ।
म्याडोनाको कल्पनामा ‘म्याडम एक्स’ सेक्रेट एजेन्ट हुन् । म्याडम एक्सले परिचय लुकाएर विश्व भ्रमण गरेर स्वतन्त्रताका लागि लडिरहेकी छिन् । एल्बम अमेरिकी स्वाद खासै नभएपनि अमेरिकीले उत्तिकै मन पराएका थिए । यसअघि उनका ‘एमडीएनए’, ‘हार्ड क्यान्डी’, ‘कन्फेसन अन ड डान्स फ्लोर’, ‘अमेरिका लाइफ’, ‘म्युजिक’, ‘लाइक अ प्रेयर’, ‘ट्र्यु ब्लु र लाइक अ भर्जिन’ र ‘लाइक अ भर्जिन’ एल्बम बिलबोर्ड चार्ट्समा नम्बर १ स्थानमा परेका थिए । –नागरिक शुक्रबारबाट
प्रतिक्रिया