सुवास गौतम ।
जब,
प्रेमका प्यालाहरु उत्कर्षले भरिन्छन,
उमंगका लहरहरु तरंगित हुन्छन
त्यती बेला,
जमिनमा फिँजारिएका
आकाशभरि समेटिएका
एक अम्मल खुसीहरु
समुन्द्र भरि तैरीएर
चेतनाशुन्य भई समेटिन्छन् ।
आहा !
तिमीले गर्ने प्रेम यही हो ।
अब त भ्रमहरुको बिशाल तबलामा
दिनहुँ हत्केलाहरु ठटाईन्छन् ।
धेरै जसो,
छद्म पात्रहरु उभ्याईन्छ ।
कतिपय मै जस्ता छन् ।
कतिपय तिमी जस्ता
तर,
मेरै आकृती भुलेर तिमीले
धेरै जसो,
गलत आकार नै कुँद्छौ ।
अहो !
यो त प्रेमको कल्पना मात्र हो ।
आज तिमीलाई पानामै उतारें ।
तिम्रो साजसज्जाले भरिएको
कानको लोति-कपालको श्रृंगार
छातिको बयानलाई,
एक धर्कामा कोरीदिए ।
त्यति बेला तिमी नाचेकी थियौं ।
कुम हल्लाएर,
कुन तरगंमा ?
कुन चेतनामा ?
मलाई संझना छ ।
तिमीले फाल हाल्दै
मेरा ओठहरु टोकेको ।
आहा !
यो त, प्रेमको कथा थियो ।
आउ आज त्यही कथा-बुँदहरु टिपेर
फेरी एउटा कल्पना गरौं ।
तिमीले प्रेम गरेको ।
मैले प्रेम जानेको ।
तिम्रो हत्केलामा,
मेरो हृदयको तातो महशुस गरि हेर ।
संगै मझेरीमा छरिएका
प्रेम-शब्दहरु संगालेर
तिमीले भरेकी थियौ
मटान, दलिन र चोटा र आँगनहरु
अझै तिम्रो अत्तरको सुगन्धमा
लटपटिएको साँझ
मलाई डाक्ने गर्छ ।
हिड,
पहिलो प्रेम कतै अलमलिएको छ ।
कवि गौतम अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं. २ पोखराथोक निवासी हुनुहुन्छ ।
प्रतिक्रिया