१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

युरोपा लिगः युनाइटेड र आर्सनल पराजित



एजेन्सी ।
इंग्लिस जाइन्ट म्यानचेस्टर युनाइटेड र अर्को उपाधि दाबेदार आर्सनल युरोपा लिग फुटबलमा पराजित भएका छन् । युनाइटेड काजिकिस्तानको क्लब एफसी अस्टनासँग २-१ ले पराजित हुँदा आर्सनल भने जर्मनीको क्लब इन्ट्राच्ट फ्रान्फर्टसँग २-१ लेनै पराजित भयो । दुबै इंग्लिस क्लबले सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोरेका थिए ।
आर्सनलले पहिलो हाफको अन्तिम मिनेटमा पिएरे अउब्यामेयाङको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । तर, घरेलु मैदानमा आर्सनल दोस्रो हाफमा लगातार दुई गोल खान पुग्दा पराजित भयो ।
फ्रयांकफर्टका लागि ५५ र ६४ मिनेटमा जापानी खेलाडी दाइची कामदाले दुई गोल गर्दै टिमलाई जित दिलाएका थिए । बिहीबार राति भएको समूह चरणको खेलमा युनाइटेड काजकिस्तानको क्लब एफसी अस्टनासँग उसकै मैदानमा पराजित हुन पुगेको हो ।
युनाइटेडले खेलको १०औं मिनेटमा जेसे लिंगार्डले युनाइटेडलाई अग्रता दिलाए । खेल सुरु भएको १० मिनेटमानै पाएको अग्रतापछि युनाइटेड केही आत्माविश्वासी देखिएको थियो । उसले गोलका केही राम्रा अवसर पनि बनायो । तर, पहिलो हाफमा उसले थप गोल गर्न नसक्दा १–० कै अबस्थामा युनाइटेड अग्रता कायम गर्न सफल भयो। तर, दोस्रो हाफ युनाइटेडका लागि बिर्सनलायक रह्यो ।
५५औं मिनेटमा दिमित्री शोम्कोले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीको अवस्थामा पु¥याए । घरेलु दर्शकको उल्लेख्य साथ रहेको खेलको ६२ औं मिनेटमा डी शोन बर्नार्डले आत्मघाती गोल गर्दा अस्टना २–१ ले विजयी रहन सफल भयो ।
पराजयका वाबजुद युनाइटेड समूह एलमा १० अंकका साथ शीर्ष स्थानमा कायम छ । नकआउट चरणमा पुगिसकेको युनाइटेडले पाँच खेलबाट तीन जित एक हार र एक बराबरी खेलेको छ । अस्टनाको भने यो पाँच खेलमा पहिलो जित हो ।

प्रकाशित मिति : १३ मंसिर २०७६ शुक्रबार ००:००  ८ : १६ बजे