१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तु नन्दनगरमा महायज्ञ सुरु



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको नन्दनगरमा श्री ब्रहम्म वैवर्त महापुराण पाठपारायण तथा श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ सुरु भएको छ । जिल्लाको महत्वपूर्ण धार्मिकस्थल बाणगंगा-२ नन्दनगरमा विहीबारबाट सुरु महायज्ञ सुरु भएको हो ।
महायज्ञको प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गर्नुभयो । महायज्ञ पूर्व विहान वैरियाबाट बाजागाजासहितको कलस यात्रा गरिएको थियो । कलस यात्रा राजपुर नन्दनगर हुँदै महायज्ञ स्थलमा गई सभामा परिणत भएको थियो । यात्रामा बिभिन्न विद्यालयका विद्यार्थी तथा संघसंस्थाले सांस्कृतिक झलक दिएका थिए ।
आश्रममा गर्न थालिएको पुराण वाचनको २५ औँ श्रृङखला अन्तर्गत गुरुकुलम्मा रजत जयन्तिस्वरुप महापुराण आयोजना गरिएको गुरुकुलमका अध्यक्ष रविराज ज्ञवालीले बताउनु भयो ।
महायज्ञमा ब्रहम्मनिष्ठ तत्वदर्शी सन्त शिरामणी स्वामी लोकानन्द महाराज जीले अमृतमय प्रवचन दिइरहनु भएको छ भने प्रमुख बाचकको रुपमा वाचन शिरोमणी दीपक सापकोटा रहनु भएको छ । मंसिर १८ गतेसम्म हुने महायज्ञमा करोड दीप प्रज्वलन, १००८ कलस पुजन, पितृउद्धार लगायतका पुनित कार्यक्रमहरु राखिएकाले सहभागी भई पुण्य ग्रहण गर्न आयोजकले सबैलाई अनुरोध गरेको छ ।
महायज्ञमा साँझ दैनिक रात्रीकालिन भजनकिर्तनको कार्यक्रम हुने छ । यस्तै नेपाल भ्रमण वर्षलाई सफल बनाउनको लागि प्रदेशमा रहेका धार्मिक स्थलहरुको कथाको माध्यमबाट जानकारी गराउने कार्यक्रम पनि रहेको महासचिव जगत राज रेग्मीले जानकारी दिनुभयो ।
महायज्ञ आयोजक गुरुकुलम संरक्षण समितिका अध्यक्ष तथा यज्ञ सम्पादन मूल समितिका संयोजक ज्ञवालीको अध्यक्षता र महासचिव जगत राज रेग्मीको संचालनमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री दीप कुमार उपाध्याय, पूर्व सांसद भागवत ज्ञवाली, प्रदेश सांसद विष्णु पन्थी, नगर प्रमुख मंगल प्रसाद थारु, वडा नम्बर १ र २ का वडाध्यक्ष बालकुमारी अधिकारी र विष्णुु पौडेल, नेकपा बाणगंगा नगर कमिटी अध्यक्ष शंकर पौडेल, नागरिक समाजका जिल्ला अध्यक्ष दोलख बहादुर पछाई, यज्ञ सम्पादन मूल अयोजक समितिका सचिव कृष्ण मुरारी ज्ञवाली लगायतले बोल्दै महायज्ञ सफलताको शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७६ बिहिबार ००:००  ७ : २६ बजे