१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अर्घाखाँची बस दुर्घटनाः तीन नाबालक जो दुर्घटनाबाट बचे, ३ महिनाका नाबालक अझै वेपत्ता



बुटवल ।
अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस सन्धीखर्क नगरपालिका नरपानीमा दुर्घटना भएको थियो ।
अर्घाखाँचीमा भएको बस दुर्घटना तीव्र गतिका कारण भएको घाईतेहरुले बताएका छन् । दुर्घटनामा परी घाईते भएकाहरुको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चौराह अस्पतालमा ९ जनाको उपचार भइरहेको छ । क्रिमशन अस्पतालमा २ जना र भैरहवा मेडिकल कलेजमा ४ जनाको उपचार भइरहेको प्रहरीले बताएको छ । चौराह अस्पतालमा उपचारर्थ ९ जना मध्ये ३ जना नाबालक छन् ।

३ नाबालक जो दुर्घटनाबाट बचे, एकले आमा गुमाए

अर्घाखाँची सन्धीखर्क नगरपालिका–७ का साढे २ वर्षीय रिजन कुँवर चौराह अस्पतालको आकस्मिक कक्षमा छन् । उनको टाउकोमा चोट लागेको छ । आमा सपना कुँवर पनि घाइते अवस्थामा छिन ।
उनको पनि टाउकोमा चोट लागेको छ । चौराह अस्पतालको आकस्मिक कक्षमा आमा सपना र २ वर्षीय छोरा रिजन एउटै बेडमा उपचार गरिरहेका छन् । आमा छोराको हेराहेर हुन्छ तर दुवै राम्रोसँग बोल्न सक्ने अवस्थामा छैनन् ।
चौराह अस्पतालमा कपिलबस्तु कोईली बनगाईका ३ वर्षीय स्पर्श पोखरेलको पनि उपचार भइरहेको छ । उनको पनि टाउको चोट लागेको छ । आमा विमला पोखरेल पनि घाईते अवस्थामा छिन् ।
उनको मेडिकल कलेजमा उपचार भइरहेको छ । विमलाका कान्छो ३ महिनाको छोरा शोभाखर पोखरेल अहिलेसम्म बेपत्ता छन् ।
त्यसैगरी सन्धिर्खक नगरपालिका–७ खाँचीकोटका १ वर्षीय गणेश पुरी पनि घाईते अवस्थामा अहिले चौराह अस्पतालमा उपचार भइरहेको छ । उनकी आमा माया पुरीको भने घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
अधिकांश दुर्घटनामा बच्चाहरु घाईते हुने गरेको भेटिन्छ । अर्घाखाँचीको यो दुर्घटनामा पनि भाग्यले यी तीन बालबालिको ज्यान बचेको छ । सवै बच्चाहरुको टाउको र हातमा चोट लागेको छ । –शिलापत्रबाट साभार

प्रकाशित मिति : १२ मंसिर २०७६ बिहिबार ००:००  १२ : २२ बजे