मायादेवी अनलाइन, कपिलवस्तु ।
ओशो अभियान्ता स्वामी आनन्द अरुणले प्रेमविनाको समाजको परिकल्पना गर्न नसकिने बताउनु भएको छ । २१ औँ शताब्दीको यो युगमा सबै कुराहरुको तीव्र विकास भए पनि दिनप्रतिदिन प्रेम लिने र दिने प्रकृया कमजोर बन्दै गएकाले समाजमा अपराधले जरा गाडेको उहाँले बताउनु भयो ।
ओशो तथागत आश्रम बाणगंगा ८ बोडगाउँमा एक दिने शिविरको लागि यहाँ आउनु भएका उहाँले अहिले प्रेमको अभावमा संसार कुरुप बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– “म संसारका करिब सय सहरमा आफ्नो अभियान लिएर पुगेको छु । जहाँ पनि प्रेमको अभाव देखिरहेको हुन्छु । जहाँका मानिसमा पनि प्रेमभाव हरण हुँदै गइरहेको देखेको छु । यस प्रवृत्तिले भोली संसार कस्तो हुने हो ? आश्चर्य लाग्छ ।”
मानिसलाई सुधार गर्ने र सही दिशामा लगाउने एक मात्र अचुक उपाय संसारमा अहिले प्रेम बाहेक अरु केही हुन नसक्ने उहाँको ठम्याइ छ । चिन्ताकै कारण मदिरा र लागु औषध सेवन गर्नु संसारका मानिसहरुलाई वर्तमानको बाध्यता रहेको भन्दै उनीहरुमाथि कठोर सजाय लाद्न नहुने उहाँले बताउनु भयो । लागु पदार्थ दुव्र्यसन र मदिरा सेवनकर्ताहरुलाई सुधार्न समाजबाट प्रेम प्रदर्शन हुनुपर्ने साटो अहिले संसारभर जेल, नेल र अपराधीको ब्यावहार प्रदर्शन भइरहेको भन्दै यसले कहिल्यै समाज नसुध्रने उहाँले बताउनु भयो ।
जतिसुकै सम्पन्न भनिने मानिसहरु पनि ट्रेस (चिन्ता) बाट उन्मुक्त हुन सकिरहेका छैनन् । के गरौँ, कसो गरौँ, कस्तो जीवन जिऊँ, धन कसरी कमाऊँ आदिजस्ता चिन्ताले मानिस दिनप्रतिदिन रोगी बन्दै गइरहेको छ । मानिसहरु यिनै चिन्ताको कारण आत्महत्या गर्न विवश छ । आपराधिक गतिविधि गरिरहेको छ, त्यसैले यी सवै चिन्ताबाट मुक्त भई शान्ति र आनन्दसंग बाँच्न ध्यान र योगमा ध्यान दिन सबैमा विन्ति गर्दछु, उहाँले भन्नुभयोे । उहाँले अबको १० बर्षमा संसारमा सबैभन्दा धेरै मानिस मार्ने रोगको रुपमा तनाव रहन सक्ने संकेत देखिएकाले जुनसुकै अवस्थामा पनि चिन्ता नलिन सुझाउनु भयो ।
योग साधक र उहाँका अनुयायीहरुसंग करिब १ घण्टा प्रवचन दिनुभएका उहाँले नेपाल सरकारले मनाईरहेको नेपाल भ्रमण बर्ष २०२० मा केन्द्रित भएर महत्वपूर्ण विचार पनि राख्नु भएको छ । भ्रमण वर्ष मनाउनु सरकारको असाध्यै राम्रो काम भए पनि धेरै कुरामा करेक्सन हुन जरुरी रहेको उहाँको भनाई छ । सगरमाथाको देश, गौतम बुद्धको देश भनेर संसारमा नेपाल चिनिए पनि यसको उचित मार्केटिङ हुन नसक्दा नेपाल पछि परेको उहाँ बताउनु हुन्छ । भ्रमण बर्षमा मनाउने शिलशिलामा लुम्बिनीको उदाहण दिँदै उहाँले भन्नुभयो–‘काठमाण्डौँबाट लुम्बिनी आउन हवाई यात्राबाट पनि चारपाँच घण्टा लाग्छ । दिन नै वित्छ । यहाँका जामले लुम्बिनी आउन लागेका पर्यटक पनि बीच बाटोबाटै फर्कन्छन् भने कसरी नेपाल भ्रमण बर्ष सफल हुन सक्छ ?’ उहाँले प्रश्न गर्नुभयो– नेपाल घुम्न आएको कुनैपनि मुलुकको पर्यटक आफ्नो देश फर्केर यहाँको जामको दिग्दारी र प्रदुषणको बारेमा आफ्नो फेसबुकमा लेखिदिए भने विश्वमा के सन्देश जाला ?
मायादेवी रंगशालामा बोडगाउँमा रहेको ओशो तथागत आश्रमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने आफ्नो चाहना रहेको सुनाउँदै पर्यटकहरुको केन्द्र बन्ने गरी यसको विकासमा आफूहरु लागेकाले सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
अधिकांश समय बुद्धको महिमा र पर्यटन बर्षमा केन्द्रित रहनु भएका स्वामी आनन्द अरुणले पर्यटन वर्षलाई सफल बनाउन अब नेपालीहरुले अतिथि देवो भवः भावलाई उच्चतम रुपमा प्रदर्शन गर्नुपर्ने बताउदै कपिलवस्तुका पर्यटकीय चिनारीलाई उजागर गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले आफ्नो प्रवचनपछि आश्रममा बनेको मन्दिरमा केहीछिन पुजा गरेर सर्वसाधारणसंग संगै बसेर खाना खानुभएको थियो ।
कार्यक्रममा पूर्व मन्त्री दीप कुमार उपाध्याय, प्रदेश सांसद विष्णु पन्थी, बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, उप–मेयर चक्र अर्याल, नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा नम्बर ८ का वडाध्यक्ष गुणनिधि भूषाल लगायतले बोल्दै ओशो तथागत ध्यान आश्रमको विकासमा आफूहरुको भरपुर सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शिविरमा बिभिन्न संघ संस्थाका प्रमुख, सरकारी कर्मचारी, संचारकर्मी लगायत भारतका ओशो अभियान्ताको पनि सहभागिता रहेको थियो । शिविरको संचालन ओशो अभियान्ता स्वामी गगनले गर्नुभएको थियो ।
१२ मंसिर २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया