१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कैलाश आश्रम नन्दनगरमा आजबाट ब्रहम्म वैवर्त महापुराण, प्रदेश प्रमुख यादव आउँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको महत्वपूर्ण धार्मिक स्थल बाणगंगा २ नन्दनगरमा आजबाट श्री ब्रहम्म वैवर्त महापुराण पाठपारायण तथा श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ सुरु हुँदै छ । श्री कैलाश आश्रम गुरुकुलम्को आयोजनामा गुरुकुलको संरक्षण र धर्म संस्कृतिको रक्षा गर्नको लागि सुरु हुन लागेको महायज्ञमा आज उद्घाटनको लागि प्रदेश प्रमुख धर्मनाथ यादव आउँदै हुनहुन्छ ।

महायज्ञको उद्घाटन कार्यक्रम विहान ११ बजे तय गरिएको छ । उद्घाटन पूर्व आज विहान वैरियाबाट कलस यात्रा सुरु हुने आयोजकले जनाएका छन् । विहान ९ बजेबाट सुरु हुने बाजागाजासहिततको कलस यात्रा राजपुर नन्दनगर हुँदै महायज्ञ स्थलमा गई सभामा परिणत हुने छ । कसल यात्रामा बिभिन्न झँकीहरु पनि प्रस्तुत हुने छन् भने बिभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक झलक दिने आयोजक गुरुकुलम् संरक्षण समितिका अध्यक्ष तथा महायज्ञ आयोजक मूल समितिका अध्यक्ष रविराज ज्ञवालीले बताउनु भयो ।

आश्रममा गर्न थालिएको पुराण वाचनको २५ औँ श्रृङखला अन्तर्गत गुरुकुलम्मा रजत जयन्तिस्वरुप महापुराण आयोजना गरिएको ज्ञवालीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । उद्घाटनमा प्रदेश मन्त्री, सांसद, यस क्षेत्रका मेयर उपमेयर लगायतको सहभागिता हुने पनि आयोजकले बताएका छन् ।
महायज्ञमा ब्रहम्मनिष्ठ तत्वदर्शी सन्त शिरामणी स्वामी लोकानन्द महाराज जीले अमृतमय प्रवचन दिनु हुने छ भने प्रमुख बाचकको रुपमा वाचन शिरोमणी दीपक सापकोटाले संगितमय प्रवचन दिनु हुने छ । मंसिर १८ गतेसम्म हुने महायज्ञमा करोड दीप प्रज्वलन, १००८ कलस पुजन, पितृउद्धार लगायतका पुनित कार्यक्रमहरु राखिएकाले सहभागी भई पुण्य ग्रहण गर्न आयोजकले सबैलाई अनुरोध गरेको छ । महायज्ञमा साँझ दैनिक रात्रीकालिन भजनकिर्तनको कार्यक्रम हुने छ । यस्तै नेपाल भ्रमण वर्षलाई सफल बनाउनको लागि प्रदेशमा रहेका धार्मिक स्थलहरुको कथाकोमाध्यमबाट जानकारी गराउने कार्यक्रम पनि रहेको महासचिव जगत रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ मंसिर २०७६ बिहिबार ००:००  ७ : ५७ बजे