१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अर्घाखाँची बस दुर्घटना अपडेटः मृतकको संख्या १९ पुग्यो (नामावलीसहित)



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको नरपानी नजिकै बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि १३ जना घाईते भएका छन् ।
सन्धिखर्कबाट बुटवल तर्फ आउदै गरेको लु २ ख २१४८ नम्बरको बस सडकबाट करिव ३ सय मिटर तल भिरबाट खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा ७ जनाको मात्र सनाखत भएको छ । सनाखत हुनेमा सन्धिखर्क नगरपालिका वडा नं. ७ का शिवलाल भट्टराई, सन्धिखर्क नगरपालिका ७ का बलराम भट्टराई, सन्धिखर्क नगरपालिका ७ का माया पुरी, सन्धिखर्क नगरपालिका वडा नं. ७ का मुनिका खड्का, भुमिकास्थान नगरपालिका ९ का शैलैस थापा, कपिलवस्तु बुद्धभुमि नगरपालिका ओमबहादुर थापा र सितगंगा नगरपालिका वडा नं. २ का शान्तबहादुर बस्नेत रहनुभएको छ । अरुको अझै सनाखत भएको छैन् । रातभरीमा सनाखत हुन सक्ने अनुमान ।

मृत्यु हुनेमा १२ जना पुरुष ७ जना महिला रहेको अर्घाखाँची प्रहरी सुचना अधिकृत सुरेश सुबेदीले बताए । घाईते १३ जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछी थप उपचारका लागि बुटवल रिफर गरिएको छ । मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

अहिले रातको समय भएकाले उद्धारमा समस्या भएको छ । दुर्घटनाको कारण एक्कासी जोडले ब्रेक थिच्दा बस अनियन्त्रित भई सडकको डिल भासिएर भिरबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । बस चालक भर्खरभर्खर सह चालकबाट बस चलाउन थालेको बताईएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६ बुधबार ००:००  ९ : ४३ बजे