१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

सिमा विवादमा ओली सरकार भारतविरुद्ध केहि बोल्न सकेनः देउवा



विराटनगर ।
कालापानी, लिपुलेक, लिम्पियाधुराको विषयमा सत्तारुढ दल नेकपाले भारतविरुद्ध कुनै कुरा गर्न नसकेको आरोप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएका छन्।
मङ्गलबार विराटनगर विमानस्थलमा पत्रकारसँग करिब सवा चार मिनेट समय खर्चिएका सभापति देउवाले तीनवटै क्षेत्र भारतले नक्सामा राखिरहदाँ समेत ओली सरकारले भारतविरुद्ध बोल्न नसकेको बताएका हुन्।
राष्ट्रिय मुद्धामा सबै राजनीतिक दल एक स्थानमा उभिएर सरकारलाई साथ दिँदा समेत ओली सरकारले भारतसँग यसविषयमा केही गर्न नसकेको बुझाई सभापति देउवाको थियो।
कालापानी तथा सुस्ता जस्तो विवादास्पद क्षेत्रमा समेत काश्मीर जस्तो घटनाक्रम दोहोर्याउने भूमिकामा भारत देखिएको बताएका सभापति देउवाले वर्तमान सरकारले यसविषयमा केही पनि गर्न नसकेको दाबी गरे।

सभापतिकै पछिल्लो अभिव्यक्तिप्रति पार्टीकै केन्द्रीय सदस्यहरुले आलोचना गरिरहेका छन् भन्ने सन्दर्भमा देउवाले भने, ‘कालापानी भारतको हो भनेर त बोलेका छैनन नि, अरु कुरा त हाम्रो पार्टीमा भइहाल्छ नि।’
महाकाली सन्धि आफ्नै कार्यकालमा भएको बताएका देउवाले कालापानी, लिपुलेक, लिम्पियाधुरा महाकाली नदी पूर्वतर्फ पर्ने र भारतको क्षेत्र नदी पश्चिममा भएको बताए।
सो सन्धिमा नदीको पानी आधा आधा हुने सम्झौता भएको बताएका देउवाले महाकाली नदी छिचोलेर भारतले नक्सामा ती तीन क्षेत्र राखेको प्रस्टाए।
सरकारले ल्याउने लागेका अध्ययादेशका विषयमा सभापति देउवाले भने, ‘सरकार अख्तियार अनुसन्धान दुरुपयोग आयोगलाई शाही आयोग जस्तै बनाउने खेलमा लागेको छ। यसप्रकारका अध्यायादेश, आयोगको पक्षमा नेपाली कांग्रेस उभिदैन।त्यसको विरोध गरिरहनेछ।’
मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसको जित सुनिश्चित भएको बताउदै देउवाले भने, ‘कम्यनिष्ट सरकारले सत्ता चलाउदै गर्दा अहिलेसम्म के गर्यो ? तलब बढायो, भ्रष्टाचार बढायो यही त हो नि हैन ?’

प्रकाशित मिति : १० मंसिर २०७६ मंगलबार ००:००  ३ : ३६ बजे